युक्रेन युद्धप्रति असहमत बालबालिकामाथि दमन गर्दै रुस : एमनेस्टी

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

रुसी अधिकारीहरूले क्रेमलिन र युक्रेनमा यसको आक्रमणको विरोध गर्ने बालबालिका र उनीहरूका परिवारलाई सजायस्वरूप दमन गरिरहेको एमनेस्टी इन्टरनेसनलले जनाएको छ।

रुसी नेता भ्लादिमिर पुटिनले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना पठाएपछि अधिकारीहरूले असहमतहरूमाथिको दमनलाई तीव्र पारेका बताइएको छ। उनीहरूले बालबालिकालाई आमाबाबुमा दबाब दिन प्रयोग गर्ने, आमाबुबाबाट बालबालिकाहरू अलग गरेर अभिभावकको अधिकारको हनन गर्नेजस्ता धम्की दिने कार्य गरेका अधिकार समूहले बताएका छन्।

एमनेस्टीका अनुसार केही आमाबाबु बालबालिकाबाट अलग हुने भएका कारण आफ्ना बच्चाहरूसहित रुसबाट भाग्नुपरेको थियो। ‘राजनीतिक रूपले प्रेरित यो आक्रमणमा बालबालिका, विद्यालय र शिक्षकहरू उत्पीडन र मनाेमानीको हतियार बनेका छन्,’ एमनेस्टीको रुसी अनुसन्धानकर्ता ओलेग कोज्लोव्स्कीले भने।

सन् २०२२ अक्टोबरमा ह्वाट्सएप प्रोफाइलमा युक्रेनसमर्थित रेखाचित्रको तस्बिर देखेपछि मस्को प्रहरीले १० वर्षीया वरुवारा गाल्किनालाई सोधपुछ गरेको थियो। प्रहरीले उनकी आमा एलेना जोलिकोयरलाई धम्की दिनुका साथै घरमा खोजतलास गरेको थियो। झुटाे आपराधिक अभियोजनको डरले जोलिकोयर र दुई छोरीहरू देश छोडेर भाग्न बाध्य भएका थिए।

‘मेरा छोरीहरू सरकारसँग सहमत छन् वा युद्धलाई समर्थन गर्छन् भन्ने ढोंग गरेर दोहोरो जीवन बिताउन् भन्ने मैले चाहिनँ,’ उनले एमनेस्टीसँग भनिन्। सन् २०२३ नोभेम्बरमा सेन्ट पिटर्सबर्गका १६ वर्षका येगोर बालाजेकिनलाई दुई सैन्य भर्ती केन्द्रहरूमा डिजेल इन्धन र सेतो ‘स्पिरिट’को बोतल फ्याँकेको आरोपमा सैन्य अदालतले ६ वर्षको जेल सजाय सुनाएको थियो।

‘उनका कार्यहरूले कुनै क्षति गरेन, तैपनि उक्त घटनालाई आतंकवादी आक्रमणको रूपमा संकेत गरिएको थियो,’ एमनेस्टीले थप जानकारी दिँदै भन्यो। 

कुनै पनि मामिलामा त्यहाँका बालअधिकार आयुक्तहरूले बालबालिकाको राजनीतिक रूपमा प्रेरित उत्पीडनलाई चुनौती दिन वा उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न वकालत नगरेको एमनेस्टीको  प्रतिवेदनमा उल्लेख छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अधिकारीहरूले प्राथमिक र माध्यमिक विद्यालयहरूमा देशभक्तिको कक्षा सञ्चालन सुरु गरेका थिए। एमनेस्टीका अनुसार देशभक्तिको कक्षामा सात र सात वर्षका केटाकेटीहरूलाई क्रिमियाको युक्रेनी ‘ब्ल्याक सी’ प्रायद्वीप विस्तारको १०औँ वार्षिकोत्सवसँग सम्बन्धित आनन्द र उत्सवको भावनालाई समर्थन गर्ने कक्षा सञ्चालन गर्न शिक्षकहरूलाई आदेश दिइएको थियो।

‘रुसको यो नकारात्मक संसारमा, सरकारसँग असहमत बालबालिकालाई प्रहरी, अदालत र विद्यालयसँग पनि खतरा छ,’ कोज्लोव्स्कीले भने।

सुझावित समाचार