प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तासमीकरणमा कुनै फेरबदल नहुने बताएका छन्।
सिंहदरबारमा आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशंका, उपशंका नगर्न आग्रह गरे।
वर्तमान सत्तासमीकरणमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राखेको जिज्ञाशामा प्रधानमन्त्रीले भने, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ।’
आफूले पनि केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उनले दलका नेताहरूबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।
प्रधानमन्त्री दाहालले ठूलो अन्योलबीच सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसदमा बजेट प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारी रूपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिए।
बैठकमा माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री दाहालले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसदमा रहेका महत्त्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताए।