ताप्लेजुङ जिल्ला जलविद्युत् आयोजनाको हब बन्दै गएको छ । जिल्लामा दुई दर्जन आयोजना छन् । केही आयोजना विद्युत् उत्पादन भई सञ्चालन सुरु भएका छन् । केही योजनाको काम ७५ प्रतिशत सकिएको छ । केही आयोजनाकाे ५० प्रतिशत काम सकिएको बताइएको छ । केही विद्युत् आयोजनाहरू शिलान्यास भएका छन् । केही आयोजनाहरूले जग्गा अधिकरण गर्न विज्ञापन प्रकाशित गरिरहेका छन् ।
ताप्लेजुङ जिल्लाको बीचभागबाट बगिरहेको तमोर नदी आयोजनाको मुख्य केन्द्रविन्दु हो । तमोरका शाखा काबेली खोला, मेवाखोला, मैवाखोला, फावाखोला, घुन्सा खोलालगायतका दर्जनौँ खोलाबाट विद्युत् उत्पादनको लाइसेन्स लिएर विभिन्न कम्पनीले काम गरिरहेका छन् । ताप्लेजुङमा एकपछि अर्को आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जडान हुँदै गएका छन् ।
तमोर नदीबाट ७३ मेगावाट क्षमताको सानिमा मध्यतमोर जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जाेडिएको छ । योजनाहरू सम्पन्न हुने क्रम बढिरहेको छ । अहिले तत्कालै काबेली नदीमा निर्माणाधीन ४७.४३ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारणलाइनमा जडान हुने भएको हो ।
ताप्लेजुङको काबेली नदीमा निर्माणाधीन सो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आउँदो असोजभित्र राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ । छुट्टा–छुट्टै तीन कम्पनीमार्फत एउटै समूहले काबेली नदीमा तीनवटा जलविद्युत् आयोजनाको निर्माण गरिरहेका छन् । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले तीनवटै आयोजनाको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र बाँकी निर्माणका काममा दैवी प्रकोपलगायतका बाधा–अवरोध नआए आगामी असोज महिनाभित्रमा विद्युत् उत्पादन सुरु गर्ने बताए । सो उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा असोज सम्ममा जडान हुनेसमेत ढुंगानाले बताए।
काबेली नदीमा बन्दै गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’, १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड र २१.०३ मेगावाटको काबेली– ३ आयोजनाको काम अन्तिम चरणमा पुगेको ढुंगानाले जनाकारी दिए । ढुंगानाले सुपर काबेली खोला आयोजना स्नोरिभर्स लिमिटेड, सुपर काबेली खोला क्यासकेड हिल्टन हाइड्रो इनर्जी र काबेली– ३ आयोजना काबेली हाइड्रोपावर कम्पनीमार्फत निर्माण भइरहेको बताए ।
यी तीनवटै जलविद्युत् आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत् १३२ केभी काबेली करिडोर प्रसारणलाइनको पाँचथर अमरपुर सबस्टेसनमा लगेर जोडिनेछ । यी आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्मको ३१ किलोमिटर प्रसारणलाइनको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । १३२ केभी प्रसारणलाइनको ६ वटा टावर निर्माण गरी तार तान्ने काम भइरहेकोसमेत ढुंगानाको भनाइ छ ।