उपचारका लागि विपन्न नागरिकको भरोसा ठानिने देशका ठूला सरकारी अस्पतालमा बिरामीले शल्यक्रियाका लागि कम्तीमा आठ महिनादेखि दुई वर्षसम्म पालो पाउँदैनन्, जसका कारण उनीहरू ऋण खोजेर पनि निजी अस्पतालमा जान विवश छन्
पालो कुर्ने बिरामीका पीडा
पाटन अस्पतालमा उपचारका लागि आएका मकवानपुरका रमेश कार्की भन्छन्–मेरो घाँटीको अप्रेसन गर्नुपर्नेछ, तर अस्पतालले पालो मंसिरमा मात्रै आउने बताएको छ । पालो पर्खाइमा बसौँ भने त्यति वेलासम्म के हुने हो थाहा छैन, नबसौँ भने निजीमा जानलाई पैसा छैन । अब कसो गरौँ ?
उपचारका लागि शिक्षण अस्पताल पुगेका काभ्रेका हर्ष तामाङ भन्छन्–मिर्गौलामा करिब १५ एमएमको पत्थरी देखियो । ठूलो पत्थरी भएकाले मिर्गौलामा असर गर्न सक्ने जोखिम रहेको भन्दै चिकित्सकले शल्यक्रियाका लागि सुझाव दिए । तर, अस्पतालले दुई वर्षपछि मात्रै पालो तोकिदिएको छ । रोजगारीका लागि विदेश जानु छ, मैले समस्या पनि सुनाएँ । तर, पालो अगाडि पाउन सकिनँ । अप्रेसन गरेर जान पाए ढुक्क हुन्थ्यो । कुर्नु कि यत्तिकै विदेश जानु भन्ने दोधारमा छु ।
मलद्वारको शल्यक्रिया गर्नुपर्ने उदयपुरकी दुई वर्षीया बालिकाले कान्तिमा ‘डेट’ नै पाइनन्- मलद्वार सानो हुँदा कान्ति बाल अस्पतालमा शल्यक्रिया गरेकी उदयपुरकी दुई वर्षीया जेनिशा वैशाखको अन्तिम साता नै डिस्चार्ज भएकी थिइन्, तर केही समयपछि उनी फेरि अर्को शल्यक्रियाका लागि भर्ना हुनुपर्नेछ । जन्मजात मलद्वार सानो हुँदा कब्जियतको समस्या भएपछि कम्मरको एक भागबाट दिसा निस्कने गरी शल्यक्रिया गरेर घर पठाइएको हो, तर यो पूर्ण उपचार भने होइन । उनको मलद्वार खुलाउन र कम्मरको घाउ टाल्न फेरि दुईवटा शल्यक्रिया गर्न बाँकी छ, तर ती शल्यक्रियाका लागि उनले कहिले पालो पाउँछिन् टुंगो छैन । उपचारमा संलग्न डा. विजय थापा भन्छन्, ‘जेनिशाको दुई शल्यक्रिया गर्नुपर्छ, तर इमर्जेन्सी शल्यक्रिया गर्नुपर्र्ने बिरामी यति धेरै छन् कि उनको पालो कहिले आउँछ अहिले भन्नै सकिँदैन ।’
विपन्न नागरिकको उपचारको भरोसा ठानिएका उपत्यकाका सरकारी अस्पतालमा जटिल रोगका बिरामीले दुई वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता छ । देशकै ठूला सरकारी अस्पताल वीर, टिचिङ, पाटन, सिभिल, कान्ति, नेपाल प्रहरीलगायतले अप्रेसन गर्नुपर्ने बिरामीको सूची लामो भएको भन्दै कम्तीमा आठ महिनादेखि दुई वर्षपछि मात्रै पालो दिने गरेका हुन् ।
सरकारी अस्पतालले मुख्यतः युरोलोजी, नाक, कान, घाँटी र अन्य जनरल अप्रेसनका लागि लामो समयसम्म पालोमा राख्ने गरेको पाइएको छ । अप्रेसनका लागि पुगेका बिरामीलाई पाटन अस्पतालले आठ महिना, वीर र सिभिलले नौ महिना, कान्ति बालले एक वर्ष, टिचिङ र नेपाल प्रहरी अस्पतालले दुई वर्षसम्मको पालो दिने गरेका छन् । अस्पतालले लामो समय कुराउँदा बिरामीहरू उपचारको पर्खाइमा तड्पिनुपर्ने अवस्था छ । यी अस्पतालमा प्रायः विपन्न बिरामी नै पुग्ने भएकाले उनीहरू निजीमा गएर उपचार गर्ने हैसियतका पनि हुँदैनन् ।
गत फागुनमा मात्र वैदेशिक रोजगारबाट आएका काभ्रेका हर्ष तामाङ पुनः बिदेसिने तयारीमा थिए । तर, वेलावेलामा पेट दुख्ने भएपछि फर्किनुअघि स्वास्थ्य परीक्षण गराउन गत बुधबार (९ जेठ) त्रिवि शिक्षण अस्पताल (टिचिङ)को ओपिडी पुगे । स्वास्थ्य परीक्षण गराउँदा मिर्गौलामा करिब १५ एमएमको पत्थरी देखियो । ठूलो पत्थरी भएकाले मिर्गौलामा असर गर्न सक्ने जोखिम रहेको भन्दै चिकित्सकले शल्यक्रियाका लागि सुझाव दिए । तर, अस्पतालले उनको शल्यक्रियाको पालो भने दुई वर्षपछि मात्रै तोकिदिएको छ ।
‘तत्काल शल्यक्रिया गर्न पाए ढुक्कले जान पाइन्थ्यो । मैले समस्या सुनाएपछि बीचमा पालो पाइन सक्ने, तर नियमित परीक्षण गराइरहनुपर्ने डाक्टरहरूले भनेका छन् । अब, शल्यक्रियाका लागि कुर्नु कि यत्तिकै विदेश जानु भन्ने भइरहेको छ,’ उनले भने ।
हर्ष एक उदाहरण हुन् । दैनिक १० हजार हाराहारी बिरामीलाई सेवा दिइरहेको टिचिङमा पनि शल्यक्रियाका लागि डेढदेखि दुई वर्षसम्मको पालो कुर्नुपर्ने अवस्था छ । त्रिविमा विशेष गरी युरोलोजी, नाक, कान, घाँटी र अन्य जर्नल शल्यक्रियाका लागि लामो समयसम्म पालोमा राख्ने गरिएको छ । इमर्जेन्सीका शल्यक्रियाबाहेक नाक, कान, घाँटीसम्बन्धी जटिल शल्यक्रिया, मिर्गौलाको पत्थरी, प्रोस्टेट वा जनरल सर्जनलगायतका केसहरूलाई पालोमा राखेको बताउँछन् अस्पताल निर्देशक डा. दिनेश काफ्ले ।
उनका अनुसार पालोमै रहेका बिरामीहरू अन्यन्त्र उपचार गराउन गएमा अन्य बिरामीले पालो पाउने तथा बीचमा कसैलाई समस्या देखिए इमर्जेन्सी सेवा दिने गरिन्छ । यसबाहेक, इमर्जेन्सीका शल्यक्रियाले लामो समय लिने र जटिल शल्यक्रियामा सर्जनहरूको टिम नै लाग्नुपर्ने भएकाले समेत जोखिमबाहेकका शल्यक्रिया ढिला भइरहेको डा. काफ्लेको भनाइ छ । ‘हामीकहाँ १९ वटा अप्रेसन थिएटर नियमित चलिरहेका छन् । २४सै घण्टा डेलिभरी र अतिआवश्यक सेवा दिइरहेको छ, तर शिक्षण अस्पतालमा नीति–नियम चल्न दिनुको साटो राजनीति गर्ने ठाउँ बनाउँदा समस्या बढेको हो ।’
शिक्षण अस्पतालहरूले चिकित्सा शिक्षा पढ्दै गरेका विद्यार्थीलाई सिकाउँदै उपचार सेवा दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा पनि अप्रेसन प्रक्रिया ढिला हुने गरेको निर्देशक काफ्लेले बताए । त्यस्तै, उपकरण चलाउने दक्ष जनशक्तिको अभाव र बजेट अपर्याप्त हुँदा सेवा प्रभावकारी हुन नसकेको उनको भनाइ छ । ‘भूकम्प, आगलागी, महामारीमा शिक्षण अस्पतालले निःशुल्क सेवा दिनुपर्ने बाध्यता छ, तर बजेटको प्राथमिकतामा राखिँदैन । बाहिर नेताहरूले भनेजस्तो दुई महिनामा शल्यक्रियाको लाइन घटाउन सकिँदैन, यसका लागि स्वास्थ्य जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्न जरुरी छ,’ डा. काफ्लेले भने ।
नेपाल प्रहरी अस्पतालमा पनि दुई वर्षपछि मात्रै पालो
पेट दुख्ने समस्या भएर अर्घाखाँचीकी ४६ वर्षीया सरस्वती पोखरेल जेठको पहिलो साता नेपाल प्रहरी अस्पताल पुगिन् । अर्घाखाँचीमा स्वास्थ्य परीक्षण गर्दा पित्तथैलीमा पत्थरी देखिएपछि उनी शल्यक्रियाका लागि काठमाडौं आएकी थिइन् । तर, नेपाल प्रहरी अस्पतालले समय लाग्ने भन्दै दुई वर्षपछिको पालो दिएर फर्काइदियो ।
‘वेलावेला पेट दुख्ने भइरहन्छ । डाक्टरले ढिला शल्यक्रिया गर्दा पनि असर गर्दैन भनेर फर्काइदिए, तर अप्रेसनचाहिँ गर्नैपर्छ रे । अब घर फर्किनु कि अर्को अस्पताल जानु ?’ उनले भनिन् ।
प्रहरी अस्पतालमा सरस्वतीजस्ता धेरै बिरामी लामो समय पालो कुर्न बाध्य छन् । अप्रेसन थिएटरको अभाव, न्यून विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीका कारण आवश्यकताअनुसार शल्यक्रिया गर्न नसकिएको अस्पताल प्रशासनले बताउँदै आएको छ । नेपाल प्रहरी अस्पतालमा अप्रेसनका लागि कम्तीमा ६ महिनादेखि दुई वर्षसम्म पालोमा बस्नुपर्ने अवस्था छ । अप्रेसन थिएटरको अभाव, न्यून विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीका कारण आवश्यकताअनुसार अप्रेसन हुन नसकेको अस्पतालले जनाएको छ ।
प्रहरी अस्पतालले शय्या संख्या एक सय ५० बाट बढाएर तीन सय पुर्याएको छ । तर, नर्सिङ र प्यारामेडिक्सको संख्या भने थपिएको छैन । बिरामीको चाप थेग्न नसकिएको बताउँदै अस्पतालले सोमबार र शुक्रबार मात्रै अप्रेसन गर्दै आएको छ । मिर्गाैला सुन्निएको वा अन्य गम्भीर समस्या देखिएको, एपेन्डिसाइटिस, आन्द्रामा प्वाल परेको, हाडजोर्नी वा ट्रमासम्बन्धी अप्रेसनहरू इमर्जेन्सीमा गर्नुपर्ने भएकाले पनि अन्य बिरामीलाई पालोमा राख्नुपरेको अस्पतालका चिकित्सक डा. सञ्जय श्रेष्ठले बताए ।
‘हाम्रोमा जनरल सर्जरी र युरोसर्जरीका केसहरू अत्यधिक आउँछन्, तत्काल शल्यक्रिया नगर्दा गम्भीर समस्या नहुने खालका बिरामीलाई पालोमा राख्ने गरिएको छ,’ उनले भने, ‘सबैको वेलैमा अप्रेसन गर्न जनशक्तिको पनि अभाव छ । तीनजना मात्रै विशेषज्ञ सर्जन भएकाले तीनजना विशेषज्ञ कन्सल्ट्यान्ट थप्ने तयारी गरिएको छ । अप्रेसन थिएटर पनि थप्न आग्रह गरेका छौँ । यस्तो अवस्थामा हप्तामा तीन दिन अप्रेसन गर्न सक्दा चाप केही कम हुन सक्छ ।’
कान्ति बाल अस्पतालमा एक वर्ष कुरेपछि आउँछ अप्रेसनको पालो
काभ्रेका नौ वर्षका बालक संयोग शाक्यको अण्डकोषको शल्यक्रिया गर्नुपर्ने देखिएपछि परिवारले गत भदौमा कान्ति बाल अस्पताल ल्याए । जन्मिँदा नै अण्डकोष कम्मरमा भएको र पिसाबमा पनि समस्या देखिएपछि उनलाई शल्यक्रियाका लागि अस्पताल ल्याइएको थियो । तर, अस्पतालमा शल्यक्रियाका लागि तत्काल पालो नपाउने भएपछि उनी नौ महिना कुरेर अण्डकोषको शल्यक्रिया गरेर वैशाखको अन्तिम साता घर फर्किए ।
नौ महिना पालो कुरेर उपचार गरेर डिस्चार्ज भएका उनी पूर्ण रूपमा निको भएर घर फर्केका भने होइनन् । पिसाब चुुहिने, पिसाबनली निकै सानो हुँदा मिर्गौलामा पिसाब फर्किन सक्ने समस्याका कारण उनका अन्य थप तीन शल्यक्रिया बाँकी नै छन् । समस्याको समाधान नखोजे मिर्गौला फेल हुन सक्ने जोखिम छ । तर, एकपछि अर्को शल्यक्रिया दुई महिनापछि गर्न मिल्नेमा अझै उनले कति पालो कुर्नुपर्नेछ हो टुंगो छैन । डेढ हप्ताको अस्पताल बसाइपछि घर फर्किँदै गरेका संयोगका बुबाले भने, ‘बाबुलाई निकै समस्या देखिन थालेपछि बल्ल पालो पाइएको हो । अझै तीनवटा अप्रेसन गर्नुपर्छ रे । दुई महिनापछि मात्र बोलाएका छन्, तर पालो पाइँदैन, त्यसैले एक महिनाअगाडि नै आएर नाम टिपाएर जाने सोचमा छु ।’
त्यस्तै, मलद्वार सानो हुँदा शल्यक्रियाका लागि अस्पताल पुगेकी उदयपुरकी दुई वर्षीया जेनिशा पनि वैशाखको अन्तिम साता नै कान्तिबाट डिस्चार्ज भएकी थिइन्, तर केही समयपछि उनी फेरि अर्को शल्यक्रियाका लागि भर्ना हुनुपर्नेछ । जन्मजात मलद्वार सानो हुँदा कब्जियतको समस्या भएपछि कम्मरको एक भागबाट दिसा निस्कने गरी शल्यक्रिया गरेर घर पठाइएको हो, तर यो पूर्ण उपचार भने होइन । उनको मलद्वार खुलाउन र कम्मरको घाउ टाल्न फेरि दुईवटा शल्यक्रिया गर्न बाँकी छ, ती शल्यक्रिया कहिले हुन्छन् टुंगो छैन । उनको उपचारमा संलग्न डा. विजय थापा भन्छन्, ‘केही समयको अन्तरालमा जेनिशाको दुई शल्यक्रिया गर्नुपर्छ, तर इमर्जेन्सी शल्यक्रिया गर्नुपर्र्ने बिरामी यति धेरै छन् कि उनको अर्को शल्यक्रिया गर्न कहिले समय पुग्छ भन्नै सकिँदैन ।’
कान्तिमा विभिन्न रोगको शल्यक्रियाका लागि बालबालिका ०८२ असोजसम्म लाइनमा छन् । इमर्जेन्सीबाहेकका शल्यक्रिया गर्न पालोमा राखिएका यी बिरामीको स्वास्थ्यमा आउने जटिलताको कुनै हिसाब नै छैन । पर्याप्त जनशक्ति उपलब्ध भए पनि शल्यक्रियाका लागि अप्रेसन थिएटर र ठाउँ अभावका कारण अप्रेसनको पालो कुर्नुपरेको अस्पतालले जनाएको छ ।
०५२ मा बनेका दुई अप्रेसन थिएटरको भरमा कान्ति चलिरहेको छ । हाल पालोमा रहेका अधिकांश केस जनरल अप्रेसन गर्नुपर्ने बढी छन् । त्यस्तै, पिसाब, पित्तथैली, हाइड्रोसिललगायत समस्याको अप्रेसनका लागि ६ महिना पालो कुर्नुपर्ने बताउँछन् डा. विजय थापा । ‘कान्तिमा अप्रेसन कक्षको चरम अभावका कारण शल्यक्रिया अपेक्षाअनुसार नभएको हो । बीचमा इमर्जेन्सी परेमा वा समस्या परेमा तत्काल अस्पताल आउन आग्रह गरेका हुन्छौँ,’ उनले भने, ‘सर्जनहरू पर्याप्त छन्, उपकरण र थिएटर उपलब्ध भए लाइनको अवधि घटाउन सकिन्छ ।’ डा. थापाले उपकरणको अभावमा इन्डोस्कोपी नभएको दुई महिनाभन्दा बढी भइसकेको पनि बताए ।
देशकै जेठो अस्पताल वीर जहाँ अप्रेसनका लागि कम्तीमा नौ महिना कुर्नुपर्छ पालो : युरोलोजीमा दैनिक आउँछन् अप्रेसन गर्नुपर्ने ३० केस, नाक–कान–घाँटी विभागमा नौ सय बिरामी अप्रेसनको पर्खाइमा
देशकै जेठो वीर अस्पतालमा विभिन्न रोगको अप्रेसन गर्नुपर्ने बिरामीको सूची लामो छ । बिरामीले १५ माघ ८० सम्म अप्रेसनको पालो कुरिरहेका छन् । यहाँ दैनिक ओपिडीमा आउने बिरामी तीन हजारको हाराहारीमा हुन्छन् । यसमा अप्रेसन गर्नुपर्ने बिरामीको संख्या पनि धेरै हुन्छ । तर, अहिले अस्पताल पुग्ने बिरामीले पुसअघि अप्रेसनको पालो पाउने सम्भावना छैन । अस्पतालका अनुसार एक महिनामा सानाठूला गरी एक हजार बिरामीको अप्रेसन गरे पनि सयौँ बिरामी पर्खाइमा छन् । जनशक्ति र स्रोत–साधनको कमी देखाउँदै अस्पतालले अप्रेसन गर्नुपर्ने बिरामीलाई लामो समयसम्म कुराउने गरेको छ ।
दैलेखका २३ वर्षीय सन्दीप सुनारको मिर्गौलामा १४ एमएमको पत्थरी रहेको चेकचाँचमा पुष्टि भयो । आकारको हिसाबले यो निकै ठूलो पत्थरी हो । तर, वीरले उनको अप्रेसनको पालो १६ पुस ०८१ मा मात्रै तोकिदिएको छ । ‘वीरमा अप्रेसनको पालो कुरेर बस्दा स्वास्थ्य बिग्रिएला भन्ने डर लागिरहेको छ, अगाडि ल्याउन डाक्टरले मान्नुहुन्न,’ उनले भने, ‘निजीमा जाऊँ पैसा छैन ।’ अस्पतालले उपचारको पालो नदिएपछि उनी घर फर्किएका छन् ।
वीरमा सबैभन्दा बढी अप्रेसन गर्नुपर्ने बिरामी युरोलोजी विभागकै छन् । यो विभागको ओपिडी आइतबार, सोमबार र शुक्रबार खुल्छ । ओपिडी खुलेको दिन करिब तीन सय बिरामी आउँछन् । त्यसमध्ये करिब ३० जनाको अप्रेसन गर्नुपर्ने अवस्था हुन्छ । तर, अत्यधिक चापका कारण नयाँ बिरामीले अप्रेसनका लागि आगामी पुससम्म पालो कुर्नुपर्ने अवस्था रहेको युरोलोजी विभागका डा. रुद्र दाहालले बताए ।
‘बिरामीको संख्या धेरै छ, तर हामीसँग स्रोत–साधन कमी छ,’ उनले भने, ‘यहाँ आएका बिरामीमध्ये पनि हामीले सामान्य र गम्भीर प्रकारका बिरामीको अवस्था हेरेर अप्रेसन तथा उपचार गर्छौँ ।’ युरोलोजीमा अप्रेसनका लागि बिरामीले माघ १५ सम्म पालो कुर्नुपर्ने अवस्था छ । त्यसयताको समय बुक भइरहेको युरोलोजीका इन्चार्ज डा. रविन बस्नेतले जानकारी दिए ।
गुल्मीको रेसुंगा नगरपालिका– ६ का ५० वर्षीय तुलसी मरासिनी नराम्रोसँग कोखा दुखेपछि ०८० चैतको पहिलो साता वीर अस्पताल आइपुगेका थिए । चेकजाँच गराउँदा मिर्गौलामा ७.२ एमएमको पत्थरी देखियो । पत्थरीकै कारण मिर्गौलासमेत सुन्निएको पाइयो । तर, अस्पतालले शल्यक्रियाको पालो १० महिनापछि २१ पुस ०८१ मा मात्रै तोकिदियो । त्यसपछि उनी उपचार नगरी घर फर्किएका छन् । ‘पत्थरीका कारण किड्नीमा दुखाइ धेरै छ, घरमा आराम गरेर बसिरहेको छु, दुखिरहेको छ भन्दा पनि डाक्टरले धेरै पछि पालो राखिदिनुभयो, अप्रेसन गर्नुपर्ने जटिल समस्यामा यति धेरै कुराउनु राम्रो होइन,’ उनले भने, ‘सरकारी अस्पतालमा उपचार राम्रो हुन्छ भनेर पुगेको, तर पालो नै पाइएन, अरू अस्पतालमा उपचारका लागि जाने योजना बनाएको छैन ।’
त्यस्तै, वीरको नाक, कान र घाँटी विभागभित्र तीन युनिट छन्, जसमा सातामा एक–एकपटक अप्रेसन हुन्छ । यो विभागमा नौ सय बिरामी अप्रेसनको पर्खाइमा छन् । वीरमा नाक, कान र घाँटीसम्बन्धी नयाँ बिरामी अप्रेसनका लागि गए आगामी २६ पुसम्म कुर्नुपर्छ । बिरामीको सूची हरेक दिन थपिँदै जाँदा नयाँ बिरामीको अप्रेसन गर्ने मिति पनि धकेलिँदै जान्छ । अस्पतालले हरेक दिन अप्रेसनका लागि आउने बिरामीको संख्या धेरै भएकाले अवस्था हेरेर पालो दिएर पठाउने गरेको छ । नाक, कान, घाँटीमा दैनिक तीन सय बिरामी ओपिडीमा आउँछन्, तीमध्ये ३०–३५ जनाको अप्रेसन गर्नुपर्ने हुन्छ ।
सिभिलमा पनि अप्रेसन गर्नुपर्ने बिरामीको भिड, तर माघ अन्तिमसम्म पालो
सिभिल अस्पतालमा पनि अप्रेसन गर्नुपर्ने बिरामीको भिड अत्यधिक छ । अस्पतालले हाल अप्रेसनका लागि पुग्ने बिरामीलाई छिटोमा आगामी २९ माघसम्मको पालो दिने गरेको छ । मुख्यतः हाडजोर्नी, पत्थरी, नाक, कान, घाँटी र पेटसम्बन्धी बिरामीले अप्रेसनका लागि पालो कुर्नुपर्ने अवस्था छ ।
अप्रेसन गर्नुपर्ने र पालो कुरिरहेका बिरामी चार सय ५० रहेको अस्पतालले जनाएको छ । कतिपय बिरामीको अवस्था गम्भीर भएमा पालो नजिक सार्ने गरिएको अस्पतालको कर्मचारी युनियन प्रमुख सन्तोष धिमालले बताए । ‘अस्पतालमा आउने बिरामीमध्ये १० प्रतिशतको विभिन्न अप्रेसन गर्नुपर्ने हुन्छ, तर समयमै सबैले पालो पाउँदैनन्, झन्डै एक वर्षसम्म कुर्नुपर्ने अवस्था छ,’ उनले भने । अस्पतालका कार्यकारी निर्देशन विधाननिधि पौडेलले बिरामीको पालोअनुसार उपचारको प्रबन्ध मिलाइने बताउँदै गम्भीर रोगका र तत्काल अप्रेसन गर्नुपर्ने अवस्थाका बिरामीलाई प्राथमिकता दिइरहेको दाबी गरे ।
पाटन अस्पतालमा पनि अहिले आएका बिरामीलाई पुसपछि मात्रै पालो
ललितपुर र मकवानपुरका बिरामीको बढी भिड लाग्ने पाटन अस्पतालमा पनि अप्रेसनका लागि सजिलो छैन । दैनिक एक हजार आठ सय बिरामी ओपिडीमा आउने पाटनमा अहिले आएका बिरामीले पुसपछि मात्रै अप्रेसनको पालो पाउने अवस्था छ । अस्पताल आएकामध्ये १५ प्रतिशतको अप्रेसन गर्नुपर्ने देखिन्छ ।
यहाँ खासगरी युरोलोजी र इएनटी (नाक, कान र घाँटी) विभागका बिरामीले अप्रेसनका लागि लामो पालो पर्खिनुपर्छ । सर्जरी र हाडजोर्नी विभागमा पनि अप्रेसन गर्नुपर्ने बिरामीको संख्या धेरै छ । अस्पताल स्रोतका अनुसार पाटनमा सबैखाले अप्रेसनका लागि पालो कुर्ने बिरामीको संख्या तीन हजारभन्दा बढी छ । घाँटीको अप्रेसन गर्नुपर्ने मकवानपुरका रमेश कार्की अस्पतालले मंसिरपछिको मात्रै समय दिएको बताउँछन् । ‘मेरो घाँटीको अप्रेसन गर्नुपर्नेछ, तर अस्पतालले पालो मंसिरमा मात्रै आउने बताएको छ,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका मकवानपुरमा रमेश कार्कीले भने, ‘पालो पर्खाइमा बसौँ भने त्यति वेलासम्म के हुने हो थाहा छैन, नबसौँ भने निजीमा जानलाई पैसा छैन । अब कसो गरौँ ?’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले स्रोत–साधनको अभावका कारण सबै बिरामीलाई समयमै अप्रेसन सेवा दिन कठिन भएको बताए । ‘हामीसँग सीमित स्रोत–साधन छ, तर बिरामीको चाप बढी छ, तीमध्ये गम्भीर र जटिल प्रकारका बिरामीलाई प्राथमिकता दिने हो,’ उनले भने, ‘हामीकहाँ अहिले इएनटी (नाक, कान र घाँटी)को अप्रेसन गर्नुपर्ने बिरामीको संख्या धेरै छ, कतिपय फुर्सदमा गर्नुपर्ने अप्रेसन पनि हुन्छन्, सरकारी अस्पतालमा दुई–चार महिना अप्रेसनको पालो कुर्नु नौलो कुरा भएन ।’
झन्डै डेढ वर्षअघि नै प्रधानमन्त्रीले दिएको निर्देशनसमेत कार्यान्वयन भएन
ठूला सरकारी अस्पतालहरूमा शल्यक्रियाका लागि दुई वर्षसम्म पालो कुर्नुपर्ने जनगुनासो बढेपछि ०७९ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिनाभित्रमा लाइन घटाउन निर्देशन दिएका थिए । उनले अस्पतालको पालोमा बस्दा देखिने स्वास्थ्य जटिलता कम गर्न एक महिनाभित्र अस्पतालको लाइन नघटाए जिम्मेवार पदाधिकारीलाई कारबाही हुने चेतावनी पनि दिएका थिए । तर, सरकारी अस्पतालमा इमर्जेन्सीबाहेकका शल्यक्रियाको पालो पाउन ६ महिनादेखि दुई वर्षसम्म कुर्नुपर्ने बाध्यता ज्युँकात्युँ छ ।