अत्यधिक गर्मी बढेपछि महोत्तरीका १५ मध्ये पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। तीन स्थानीय तहले पठनपाठनको समय छोट्याएका छन् भने सात पालिकाले बिदा दिने तयारी गरेका छन्।
मटिहानी नगरपालिकाले बिहीबारदेखि आइतबारसम्मलाई आकस्मिक गर्मी बिदा दिएको हो। लोहारपट्टी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म र सोनमा गाउँपालिकाले बिहीबार र शुक्रबार विद्यालयमा बिदा दिएकाे छ। सोनमाले मौसमको अवस्था हेरी बिदा थपघट हुने जनाएको छ।
यता बर्दिबास नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म बर्खेबिदाबाट कट्टा हुने गरी बिदा स्वीकृत गरेको छ। पिपरा गाउँपालिकाले शुक्रबारदेखि बुधबारसम्म बर्खेबिदाबाट कट्टा हुने गरी बिदा दिएको छ।
गर्मीकै कारण पठनपाठनमा समस्या आएपछि एकडारा गाउँपालिका तथा बलवा र मनरा सिस्वा नगरपालिकाले बिहानको केही समयमा पठनपाठन सञ्चालन गर्ने भएका छन्। एकडाराले बिहान ६ देखि १० बजेसम्म, बलवाले ६ देखि ९ बजेसम्म र मनरा सिस्वाले ६ देखि ९ बजेसम्म पठनपाठनको अवधि छोट्याएका हुन्। तीनै पालिकाले गर्मीको अवस्था हेरी थप निर्णय गर्ने जनाएका छन्।
जिल्लाका अन्य स्थानीय तहले पनि गर्मीको अवस्था हेरी छिट्टै बिदा दिने तयारी गरिरहेका छन्।