जेठ दोस्रो सातादेखि पश्चिम तराई कञ्चनपुरमा गर्मीको प्रभाव बढिरहेको छ। दिउँसोको समयमा झण्डै ४२ डिग्रीसेल्सियससम्म तापक्रम पुग्न थालेको छ।
गर्मी बढेसगै जिल्लाका दुई स्थानीय तहले विद्यालयमा सार्वजनिक विदा दिएका छन्। बेदकोट र कृष्णपुर नगरपालिकाले १७ र १८ जेठमा विदा दिएका हुन्।
यता, पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी, शुक्लालाँटा, भीमदत्त र दोधाराचाँदनीले विद्यालय समय घटाएका छन्। यि पालिकामा बिहान ७ बजेदेखि १० बजेभित्र मात्रै विद्यालय चलाउने गरी समय घटाएका हुन्।
जिल्लाका केही क्याम्पसले समेत गर्मी विदा दिएका छन्। दोधाराचाँदनी नगरमा रहेको भानु बहुमुखी क्याम्पसका प्रा. डम्बरदत्त जोशीले गर्मी बढ्दै गएपछि १७ जेठदेखि ८ असारसम्म विदा दिएको बताए।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले पनि सार्वजनिक विदा दिएको छ। विश्वविद्यालको केन्द्रीय क्याम्पसका प्रिन्सिपल प्रा. कुम्भ बहादुर चन्दले हस्ताक्षर गरेको सुचनामा १७ जेठदेखि ३ असारसम्मै सार्वजनिक विदा दिएको छ।