संयुक्त राष्ट्रसंघले गत असोजमा कंगोमा निधन भएका नेपाली सेनाका प्युठ भूपजित राईलाई मरणोपरान्त उच्च सम्मान दिने भएको छ । राष्ट्रसंघ मुख्यालयले शान्ति सेना अन्तर्राष्ट्रिय शान्ति सेना दिवसका अवसरमा ३० मेमा सम्मान कार्यक्रम राखेको हो । राष्ट्रसंघ मुख्यालयमा आयोजना हुने औपचारिक कार्यक्रममा महासचिव महासचिव एन्टोनियो गुटेर्रेसले सन् १९४८ देखि ज्यान गुमाएका सबै शान्ति सैनिकको सम्मानमा माल्यार्पण गर्नेछन् ।
उनले ट्रस्टिसिप काउन्सिलको चेम्बरमा आयोजित समारोहको अध्यक्षता गर्दै राईलाई डाग ह्यामरस्कजोल्ड पदक प्रदान गर्नेछन् । गुटेर्रेसले प्रजातान्त्रिक गणतन्त्र कंगो (मोनुस्को मिसन)मा कार्य गरेकी भारतकी सैनिक अधिकृत मेजर राधिका सेनलाई २०२३ को मिलिटरी जेन्डर एड्भोकेट अफ द इयर अवार्ड पनि वितरण गर्ने कार्यक्रम छ ।
राष्ट्रसंघको नेपालस्थित कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संयुक्त राष्ट्रसंघको झन्डामुनि ज्यान गुमाएका नेपालीसहित विभिन्न मुलुकका ६४ जना सैनिक, प्रहरी र नागरिकलाई न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा आयोजित विशेष समारोहमा मरणोपरान्त सम्मान गरिनेछ । गत वर्ष मृत्यु भएका ६१ जनासमेतलाई राष्ट्रसंघले सम्मान गर्नेछ । कंगोमा खटिएको नरसिंह दल (शान्ति सेना) २९औँ डफ्फामा कार्यरत प्युठ राईको गत २६ असोजमा निधन भएको थियो ।
सन् १९४८ मा इजरायल अरब युद्धविराम सम्झौताको अनुगमनका लागि पर्यवेक्षक पठाएसँगै राष्ट्रसंघले शान्ति स्थापनाका लागि सैनिक पठाउन सुरुवात गरेको थियो । राष्ट्रसंघका अनुसार त्यसवेलादेखि हालसम्म एक सय २५ देशका शान्तिस्थापक २० लाखभन्दा बढी सेनाले विश्वका ७१ शान्ति स्थापक मिसनमा काम गरेका छन् । हाल अफ्रिका, एसिया, युरोप र मध्यपूर्वका ११ वटा द्वन्द्वग्रस्त क्षेत्रमा ७६ हजार शान्ति सैनिक कार्यरत छन् । यीमध्ये हाल सबैभन्दा धेरै शान्ति सेना (प्रहरीसमेत) पठाउने राष्ट्र नेपाल हो ।
अबेई, कंगो, साइप्रस, सेन्ट्रल रिपब्लिक अफ कंगो, इराक, लेबनान, लिबिया, सोमालिया, दक्षिण सुडान, पश्चिम सहारा, यमनलगायत मिसनमा नेपाली शान्ति सैनिक कार्यरत छन् । नेपाली सेनाको पछिल्लो तथ्यांकअनुसार हाल ११ शान्तिस्थापक मिसनमा पाँच हजार आठ सय ९९ सैनिक (प्रहरीसमेत) कार्यरत छन् । यीमध्ये महिला सैनिक ६ सय ३८ जना कार्यरत छन्, जो कुल सैनिकको ११ प्रतिशत हो । राष्ट्रसंघले माली मिसन बन्द गरेसँगै त्यहाँ कार्यरत सबै शान्ति सैनिक फिर्ता भइसकेको सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए ।