आजदेखि श्रमाधान रोजगार मेला

सातै प्रदेशमा दुई–दुई दिन मेला गरिने, विराटनगरबाट सुरु हुने मेला प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा ‘श्रमाधान रोजगार मेला’ आजदेखि सुरु हुँदै छ । सातै प्रदेशमा हुने यो मेलालाई पहिलो चरणमा बिहीबार र शुक्रबार कोशी प्रदेशको विराटनगरमा गर्न लागिएको हो । ‘श्रमाधान रोजगार मेला’को कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रूपमा रहेका छन् । बिहीबार मेलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यतालिका छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, विराटनगर महानगरपालिका प्रमुखलगायतका व्यक्तित्वहरूको उपस्थिति हुनेछ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको श्रममन्त्री अर्यालले जानकारी दिए ।

विराटनगरको सिटी प्यालेस होटेल एन्ड रिसोर्टमा आयोजना हुने दुईदिने मेलाका लागि उद्योगी व्यवसायीलगातका ५० स्टल हुनेछन् । यो मेलाबाट करिब पाँच सय युवाले रोजगारी पाउने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । विराटनगर प्रदेशको उद्योग व्यवसायमा पनि रोजगार मेलाको ठूलो महत्व राख्ने उनको भनाइ छ । ‘यहाँका उद्योगले स्वदेशी कामदार नपाएको स्थिति छ, पारि (भारतीय)का कामदारबाट काम चलाउनुपर्ने बाध्यतामा हामी छौँ,’ उनले भने, ‘मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने विश्वास छ ।’

त्यस्तै, श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश संयोजक सुशीलप्रसाद आचार्यले कोशी प्रदेशमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘यो मेला बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात हो,’ उनले भने, ‘अबको १५ वर्षपछि बाध्यात्मक रूपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी डाटाबेस बनाउने हाम्रो तयारी छ ।’ युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यका साथ यो मेला आयोजना गरिएको हो । यसले रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवद्र्धन गर्ने पनि मन्त्रालयको अपेक्षा छ । 

मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ । अर्थात्, रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनविन्दुस्थल हुनेछ । समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्वपूर्ण भूमिका रहने मन्त्रालयका प्रवक्ता एवं सहसचिव गोविन्दप्रसाद रिजालले बताए ।

विराटनगरपछि मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते यो मेला गरिनेछ । त्यसपछि क्रमशः गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा जेठ २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते यो कार्यक्रम गरिँदै छ । अन्तिम चरणको तथा समापन कार्यक्रम भने बागमतीको ललितपुरमा जेठ २९ र ३० गते हुने मन्त्रालयको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटेल संघ नेपाल मेलाको सहआयोजक छन् । मेलालाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले सहयोग गरेका छन् ।

सुझावित समाचार