इटालियन निर्देशक ब्रान्डो क्विलिचीको 'द टाइगर्स नेस्ट'को एसिया प्रिमियरसँगै २१औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ।
'द टाइगर्स नेस्ट' एक किशोर (बालमणि) र बाघको बच्चाबीचको आत्मीय सम्बन्धको कथा हो। भुइँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका बालमणिले सोही आश्रमनजिकैको जंगलबाट बाघको बच्चाको सिकारीबाट उद्धार गर्छन्।
त्यसपछि रोचक र अनौठो ढंगले यी दुईबीच मित्रता गाँसिन्छ। यो मित्रतापछि उनीहरू हिमालयमुनिको रोमाञ्चक यात्रामा निस्कन्छन्। तर, उनीहरूको पछिपछि सिकारी र अनाथ आश्रमका सञ्चालक पनि दौडिन्छन्, जसले यी दुई पात्रको यात्रामा आरोह-अवरोह ल्याइदिन्छ।
फिल्मको कथा बौद्धधर्मको एउटा किंवदन्तीमा आधारित छ। मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गर्ने यो फिल्ममा हिमालको प्राकृतिक चित्रण पनि उत्तिकै सशक्त छ। नेपालमा छायांकन भएको यो फिल्ममा नेपाली कलाकारहरू लुनिभा तुलाधर, भूमिका चौधरीलगायतको समेत अभिनय छ। १ घन्टा ३४ मिनेटको 'द टाइगर्स नेस्ट' शुक्रबार २ बजे पुनः प्रदर्शन हुनेछ।
फिल्म प्रदर्शनअघि भएको उद्घाटन समारोहमा किम्फकी अध्यक्ष रम्यता लिम्बूले महोत्सवको थिम परिवर्तको प्रतिध्वनिले किम्फकै परिवर्तनलाई पनि इंगित गर्ने बताइन्। किम्फको दुई दशक लामो यात्रामा दर्शक, ओटिटीको प्रभाव, कोभिड र आर्थिक पक्षले नयाँ नयाँ परिवर्तनहरू आत्मसात गर्दै अघि बढेको उल्लेख गरिन्। उनले भनिन्, ‘किम्फमा छनोट भएका विदेशी फिल्ममार्फत विश्वव्यापी र नेपाली फिल्ममार्फत हाम्रै समाजका मुद्दाहरू र कथाशैलीबारे जानकारी तथा अनुभव लिन पाइन्छ।’
काठमाडौं महानगरपालिकाका प्रतिनिधि प्रदीप परियारले महानगरपालिका किम्फको सहआयोजक भएकोमा खुसी व्यक्त गर्दै भने, 'सिनेमा नेपाली कला-संस्कृतिलाई विश्व अवसरमा पुर्याउने माध्यम हो र किम्फले त्यो अवसर प्रदान गरेको छ।’
लेखक तथा निर्देशक जोन पोर्टरले उद्घाटन समारोहमा किनोट स्पिच दिएका थिए। आफू ४५ वर्षअघि पहिलोपटक नेपाल आएको समय र अहिले धेरै कुरा परिवर्तन भएको बताउँदै उनले भने, ‘नेपालीको हाँसो भने जस्ताको तस्तै छ।’ मानव सभ्यतामा हिमाली पर्वतमालाको ठूलो प्रभाव रहेको बताउँदै उनले सगरमाथा दिवसकै सन्दर्भ जोडेर किम्फ आयोजना हुनु अर्थपूर्ण रहेकोमा जोड दिए।
उद्घाटन सत्रको सुरुमा महिलाहरूको वाद्यवादन रहेको श्रीतारा ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो। जेठ २० सम्म चल्ने महोत्सवमा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने किम्फमा विविधताले भरिएका २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन्।