देवदहको खयरडाँडामा उत्खनन सुरु

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा बुधबारदेखि उत्खनन सुरु गरिएको छ। 

देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्त्व विभागको प्राविधिक सहयोगमा देवदह नगरपालिका– ९ स्थित खयरडाँडा क्षेत्रमा उत्खनन सुरु गरिएको हो।

देवदह नगरपालिका नगरप्रमुख ध्रुव खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले संयुक्त रूपमा कुटोले भुइँ खनेर शुभारम्भ गरेका हुन्। 

बजेट अभावका कारण पुरातात्त्विक स्थलहरूको उत्खनन, अन्वेषण हुन नसकिरहेको वेला देवदह नगरपालिकाले १० लाख बजेट छुट्याएर उत्खनन थालेको छ।

उत्खनन शुभारम्भमा बोल्दै नगरप्रमुख खरेलले पुरातात्त्विक क्षेत्रको उत्खननमा देवदह नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताए। उनले उत्खननका लागि आगामी वर्षमा पनि बजेट छुट्याएर काम गर्ने बताए। 

नगरप्रमुख खरेलले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्त्विक स्थलहरूको उत्खनन र अन्वेषणका लागि प्रदेश सरकारले समेत बजेट छुट्याउनुपर्ने बताउँदै त्यसका लागि आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाए।

यस्तै, कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्त्विक स्थलको उत्खननमा साझेदारी गरेर देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताए। 

भट्टराईले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्त्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले गत वर्षदेखि उत्खननलाई प्राथमिकतामा राखेको बताए। गत वर्ष जेठ १७ गतेदेखि गरेको उत्खननमा प्राचिन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका थिए। 

लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्त्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पाँचजनाको टोली उत्खननमा खटिएको छ। 

पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रूपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन्। उत्खनन आगामी एक महिनासम्म चल्ने बताइएको छ। 

सुझावित समाचार