खुनडाँका मुद्दामा दोषी ठहर भएका केपिलासगढी गाउँपालिका– ७ सुङ्देल खोटाङका तीन अभियुक्त सर्वोच्च अदालतको फैसला आएको दुई वर्षपछि पुनः पक्राउ परेका छन् । ०६८ चैत ४ गते राति केपिलासगढी गाउँपालिका– ३ बाक्सिलाका मनराज सुनुवारको हत्या गर्नुका साथै सुङ्देलका दानबहादुर राईको घरबाट नगद, बहुमूल्य गरगहना तथा पुरातात्त्विक वस्तुहरू लुटपाट गर्नमा संलग्न ५७ वर्षीय भीमबहादुर राई, ५८ वर्षीय चमारसिं राई र ४३ वर्षीय ताराबहादुर राईलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
अभियुक्तहरूले हतियारसहित दानबहादुरको घरमा गएर सिरानीमुनि राखेको नगद ८५ हजार रुपैयाँ, दुईवटा शंख, एक थान गौलचन, दुई थान शिवलिंग, एक थान शालिग्राम, एक जोर सुनको रिङ, एक थान सौभाग्यसहित दुई तोला सुनलगायतका धनमाल लुटेर लगेका थिए । पुनः पक्राउ परेका अभियुक्तहरूले दानबहादुरको श्रीमती जानकी र भदैनी (श्रीमती जानकीको दाजुको छोरी) संगीता राईको गरगहना लुटपाट गरेर भाग्ने क्रममा दानबहादुरकै घरमा डेरा गरी बस्दै आएका मनराजले थाहा पाएर छरछिमेकीलाई जानकारी दिन हल्लाखल्ला गरेपछि मनराजलाई समेत धारिलो हतियार प्रहार गरी हत्या गरेर करिब ५० मिटर पर लगेर फालेका थिए ।
दोस्रोपटक पक्राउ परेका तीनैजना अभियुक्तलाई ०६८ चैत १२ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएकोमा जिल्ला अदालत खोटाङले ०७१ असार १ गतेको आदेशमा सर्वस्वसहित जन्मकैदको फैसलासहित कारागार चलान भएका थिए । जिल्ला अदालतको फैसला कार्यान्वयनविरुद्ध उच्च अदालत राजविराजले निज अभियुक्तहरूलाई ०७३ भदौ २० गते डाँका गरेको कसुरमा मात्र प्रतिव्यक्ति ६–६ वर्ष कैद तथा जनही रु. एक लाख ३० हजार पाँच सय नगद जरिवाना गरी छुटेका थिए ।
उच्च अदालतको फैसलाविरुद्ध पीडितले पुनः सर्वोच्च अदालतमा दिएको जाहेरीको आधारमा सर्वोच्च अदालतले ०७९ माघ १५ गते जिल्लाकै फैसलालाई सदर गर्दै तीनैजनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्च अदालतको फैसलापछि फरार भएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय खोटाङ तथा इलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएर गएका टोलीले जेठ १३ गते आइतबार लुकिछिपी बसेको अवस्थामा उनीहरूकै गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए।
पक्राउ परेका अभियुक्तमध्ये भीमबहादुर र चमारसिंले १४–१४ वर्ष तथा ताराबहादुरले १३ वर्ष ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला अदालत खोटाङले जनाएको छ । पक्राउ परेका तीनैजना फरार अभियुक्तलाई प्रहरीले सोमबार जिल्ला अदालतमा उपस्थित गराएर सार्वजनिक गर्दै कारागार चलान गरेको छ ।
फरार अभियुक्त पक्राउ अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले गत साउनदेखि हालसम्म एक सय २२ जनालाई पक्राउ गरिसकेको छ । फरार अभियुक्त पक्राउ अभियानका क्रममा ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई समेत पक्राउ गरेर कानुनी कठघरामा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीको यो अभियानले जिल्लामा कानुनविपरीत गर्ने जोकोही उम्कन नपाउने रहेछ भन्ने सन्देश प्रवाह भएको छ । यद्यपि, जिल्लामा तीन महिलाको शृंखलाबद्ध हत्याका दोषी भने अहिलेसम्म पत्ता लागेको छैन ।