पपुवा न्युगिनीको पहिरोमा मर्नेको संख्या दुई हजार नाघ्ने

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

पपुवा न्युगिनीमा गत हप्ता गएको ठूलो पहिरोमा कम्तीमा दुई हजार मानिस पुरिएको हुन सक्ने सो देशको राष्ट्रिय प्रकोप केन्द्रले अनुमान गरेको छ । उत्तरी पपुवा न्युगिनीको पहाडी एन्गा क्षेत्रमा अघिल्लो शुक्रबार पहिरो गएको थियो । त्यस प्रकोपमा पूरै गाउँ नै पहिरोमा पुरिएको छ र उद्धारकर्ता पुग्न कठिन भएकाले हताहतीको यकिन गर्न सकिएको छैन ।

पहिरो गएको समयमा मानिसहरू घरमा सुतिरहेकाले पनि हताहती उच्च हुने अधिकारीले बताएका छन् । एसियाको सबैभन्दा गरिब राष्ट्रहरूमध्ये एक पपुवा न्युगिनी उसको देशको दुर्गम भागमा भएको यस प्रकोपका पीडितलाई उद्धार गर्न संघर्ष गरिरहेको छ । 

विपत्को केही समयपछि संयुक्त राष्ट्रसंघले मर्नेको संख्या सयजना पुग्ने बताएको थियो, जसलाई पछि देशका लागि आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)का मिसन प्रमुखले परिमार्जन गरेर ६७० पुर्याएका थिए । तर, अहिले आएर पपुवा न्युगिनीको प्रकोप एजेन्सीले मृतकको संख्या दुई हजारमाथि पुग्ने बताएको छ ।

‘पहिरोमा दुई हजारभन्दा बढी मानिस पुरिएको सम्भावना उच्च देखिन्छ,’ पपुवा न्युगिनीका राष्ट्रिय प्रकोप केन्द्रका कार्यवाहक निर्देशक लुसेते लासो मनाले संयुक्त राष्ट्रसंघलाई एक पत्र लेख्दै भनेका छन् । ‘अहिले पनि छिटपुट पहिरो झर्ने क्रम जारी रहेको परिस्थिति अस्थिर छ, जसले उद्धार टोली र बाँचेकाहरूलाई उद्धारमा कठिनाइ सिर्जना गरिरहेको छ,’ उनले थपे । पहिरोका कारण उक्त क्षेत्रमा जाने मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

विनाशको विकराल रूप
वर्ल्ड भिजनका पपुवा न्युगिनीका राष्ट्रिय निर्देशक क्रिस जेन्सेनले हाल आएको पहिरो विशाल अनुपातको रहेको बताए । ‘यो एकदम अचम्मको छ । मध्यरातको समयमा झन्डै पूरै पहाड बाक्लो बस्तीमाथि खसेको छ,’ जेनसेनले भने । स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजे राजधानी पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा पर्ने दुर्गम गाउँ काओकलाममा पहिरो खसेको थियो । त्यस्तै यम्बली गाउँका १५० भन्दा बढी घर भत्किएको अधिकारीहरूले आइतबार बताए । एक करोड जनसंख्या भएको पपुवा न्युगिनी उलेख्य पहाडी भूमि भएको देश हो । यहाँका धेरै भागमा सडकको अभावका कारण पुग्न कठिन छ ।

‘पहिरोले पुरिएकाहरू चट्टानले छोपिएका कारण खोज्न निकै कठिन छ । त्यसमाथि पहिरोले मृतकलाई सयौँ मिटर टाढा लान सक्ने भएकाले तिनको खोजी कहाँबाट सुरु गर्ने भन्नेमा थप जटिलता उत्पन्न भएको छ,’ युनिभर्सिटी अफ सिड्नीको स्कुल अफ सिभिल इन्जिनियरिङका एसोसिएट प्रोफेसर पियरे रोगनले भने । पहिरो के कारणले गयो भन्ने पनि अझै स्पष्ट भइसकेको छैन । तथापि एडिलेड विश्वविद्यालयका भूविज्ञान प्राध्यापक एलन कोलिन्सले यो पहिरो पछिल्लो समय आएको भीषण वर्षाले आएको हुन सक्ने बताए । ‘अहिले आएको पहिरोको कारण प्रत्यक्ष रूपमा भूकम्प होइन । तर, सो भेग भूकम्पीय क्षेत्रमा पर्छ । त्यहाँ बारम्बार आउने भूकम्पले ठाडो ढलान र अग्लो पहाड निर्माण गर्छ, जुन धेरै भूकम्पका कारण थप अस्थिर हुने गर्छ,’ कोलिन्सले भने ।
– सिएनएनबाट

सुझावित समाचार