इजरायली हवाई आक्रमणले रफाहमा विस्थापित मानिसका लागि बनाइएको शरणार्थी शिविरमा कम्तीमा ४५ जनाको मृत्यु भएको चिकित्सकहरूले बताएका छन् । सो घटनामा जलेका तथा क्षतविक्षत् बालबालिकाका तस्बिरले विश्वभर आक्रोश निम्त्याएको छ । साथै यस घटनाले हमाससँग जारी युद्धविराम वार्ता पनि खतरामा पारेको छ । हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले मृतकमध्ये आधा महिला, बालबालिका र वृद्धवृद्धा रहेको बताएको छ ।
यस आक्रमणलाई आठ महिनाको युद्धका क्रममा भएको सबैभन्दा ठूलो एकल आक्रमणमध्ये एक भनिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संसद्मा बोल्दै हवाई हमलामा ‘दुर्भाग्यवश केही गल्ती भएको’ स्विकारे । ‘हामी घटनाको अनुसन्धान गर्दै छौँ र छिट्टै निष्कर्षमा पुग्नेछौँ । यही नै हाम्रो नीति हो,’ उनले भने ।
इजरायलको कट्टर सहयोगी र हतियार आपूर्तिकर्ता अमेरिकाले पछिल्लो आक्रमणका तस्बिर विनाशकारी भएको टिप्पणी गरेको छ । इजरायली सुरक्षा बल ‘इजरायल डिफेन्स फोर्स (आइडिएफ)’ ले हमासका शीर्ष लडाकुलाई लक्षित गरी गरिएको बमबारीका क्रममा आगो शरणार्थी शिविरका पालमा फैलिएपछि आगजनी भएको बताएको छ ।
पछिल्लो आक्रमण हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायालयले इजरायलले रफाहमा तुरुन्तै आफ्नो कारबाही रोक्न आदेश दिएपछि भएको हो । इजरायली अधिकारीले भने रफाहको कारबाही त्यहाँ लुकी बसेका हमासका शीर्ष नेता तथा चार बटालियन लडाकुलाई निस्तेज गर्न आवश्यक रहेको बताएको छ ।
इजरायल र हमासबीच युद्धविराम र बन्धकहरूको रिहाइको प्रयासमा प्रमुख मध्यस्थता गर्दै आएको कतारले रफाह आक्रमणले लामो समयदेखि चलिरहेको वार्तालाई जटिल बनाउने प्रतिक्रिया जनाएको छ । इजरायली दैनिक पत्रिका हारेट्जले सोमबार छापेको समाचारअनुसार हमासका शीर्ष नेतृत्वले रफाह आक्रमणलाई नरसंहार भन्दै पछिल्लो वार्ताबाट बाहिरिने निर्णय गरेको छ । त्यस्तै इजरायलका अन्य छिमेकी इजिप्ट र जोर्डनले पनि रफाह हमलाको निन्दा गरेका छन् ।
इजरायलको युरोपेली सहयोगी फ्रान्सले रफाह हमलाबाट आफू आक्रोशित भएको बताएको छ । ‘यी सैन्य कारबाही बन्द हुनुपर्छ,’ फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘ प्यालेस्टिनी नागरिक भाग्नका लागि रफाहमा कुनै सुरक्षित क्षेत्र बाँकी छैनन् । म अन्तर्राष्ट्रिय कानुनको पूर्ण सम्मान र तत्काल युद्धविरामको लागि आह्वान गर्छु ।’ गाजामा इजरायलको सैन्य आक्रमणको विरोध गर्न सोमबार साँझ पेरिसमा हजारौँ प्रदर्शनकारी भेला भएका थिए ।
उता युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै रफाह आक्रणको विरोध गरेका छन्, ‘रफाहमा भएको इजरायली आक्रमणमा साना बालबालिकासहित दर्जनौँ विस्थापित व्यक्ति मारिएको समाचार भयानक छ । म यसको कडा शब्दमा निन्दा गर्छु ।’ इटलीका रक्षामन्त्री गुइडो क्रोसेटोले पनि आइतबार राति रफाहमा भएको बम विस्फोटले इजरायललाई लामो समयसम्म पछ्याउने चेतावनी दिए ।
अफ्रिकी संघका प्रमुख मोसा फकी महामतले पनि घटनाप्रति विरोध जनाए । ‘इजरायलले पूर्ण जवाफदेहिता र दण्डहीनताका साथ अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरिराखेको छ । यस आक्रमणमा रफाहमा सैन्य कारबाही अन्त्य गर्न अन्तर्राष्ट्रिय न्यायालयले दिएको आदेशको समेत अवहेलना भएको छ ,’ संघका प्रमुख महामतले भनेका छन् । क्यानडाका विदेशमन्त्रीले पनि इजरायली बम आक्रमणलाई ‘डरलाग्दो’ भने । ‘यो स्तरको भयावह मानवपीडाको अन्त्य हुनैपर्छ । हामी तत्काल युद्धविरामको माग गर्छौं,’ क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले भनिन् ।