- विपन्न नागरिकलाई मुटु क्यान्सर, मिर्गौला, अल्जाइमर, पार्किन्सन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचारका लागि प्रतिबिरामी एक लाखबराबरको रकम प्रदान गरिने
- सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा ल्याइने
- सीता दाहाल मेमोरियल कलेज स्थापना गरिने
विश्व स्वास्थ्य संगठनले आममानिसमा सहज रूपमा स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन कम्तीमा १० प्रतिशत बजेट छुट्याउनुपर्ने बताउँदै आएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरूले कुल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गर्दै आए पनि आगामी वर्षको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । जुन चालू आर्थिक वर्षको भन्दा १३ करोड नौ लाखले मात्रै बढी हो । यो कुल बजेटको जम्मा ४.६३ प्रतिशत मात्र हो । चालू आवमा ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।
आधारभूत स्वास्थ्य सेवालाई बलियो बनाउँदै लाने, अस्पतालहरूको क्षमता अभिवृद्धि तथा स्तरोन्नति गरिने र चलिरहेका कार्यक्रमलाई नियमितता दिइने गरी बजेट ल्याइएको छ । बजेटमा स्वास्थ्य क्षेत्रका लागि औषधिको प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने, चिकित्सा शिक्षाका लागि चक्रिय कोष स्थापना गरी सहुलियत कर्जा उपलब्ध गराइने, सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा ल्याइने, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण गरिने, सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णयलगायत केही कार्यक्रमबाहेक अधिकांश पुरानै कार्यक्रमलाई निरन्तता दिइएको छ ।
हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र बनाइने र निर्माणाधीन आधारभूत अस्पताल सञ्चालनमा ल्याइने, विपन्न नागरिकलाई मुटु क्यान्सर, मिर्गौला, अल्जाइमर, पार्किन्सन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचारका लागि प्रतिबिरामी एक लाखबराबरको रकम प्रदान गरिने, आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप र प्रजनन स्वास्थ्यसम्बन्धी सामग्री निःशुल्क उपलब्ध गराउने, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको जन्मजात विकलांग वा असाधारण प्रकृतिको अवस्था पहिचान गर्न भ्रूण तथा नवजात शिशु परीक्षण सेवा सञ्चालन गरिने र क्यान्सर, मेरुदण्ड र पक्षघात रोगको उपचार, मिर्गौला प्रत्यारोपण र डायलाइसिस सेवा लिइरहेका बिरामीलाई औषधि उपचार खर्चबापत दिँदै आएको प्रतिव्यक्ति प्रतिमहिना पाँच हजार सम्बन्धित व्यक्तिको खातामै जम्मा हुने व्यवस्था गरिने जस्ता कार्यक्रमलाई प्राथमिता दिइएको छ ।
बजेटमा वीर अस्पतालमा जलनको सघन उपचार कक्ष विस्तार गरिने, सिंहदरबार वैद्यखानाको पुनर्संरचना गरिने, स्वास्थ्य बिमालाई थप चुस्तदुरुस्त बनाइने, संघीय अस्पतालमा जेरियाट्रिक वार्ड स्थापना गरिने, आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रम अगाडि बढाइने, कीर्तिपुरको बर्न अस्पतालको पूर्वाधार विकास गरिने, भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रका रूपमा विकास गरिने, नयाँ निर्माण हुने ट्रमा सेन्टरको थप विकास गरिने, मानसिक अस्पताल पाटनको क्षमता अभिवृद्धि गरिने, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिनेजस्ता अस्पतालको स्तोन्नतिका कार्यक्रम समावेश गरिएको छ ।