निर्माणाधीन नागढुंगा सुरुङमार्ग र ग्वार्को फ्लाई ओभर सञ्चालनमा ल्याउने लक्ष्य

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

आगामी आव ०८१/८२ मा ग्वार्को चोकमा फ्लाई ओभर निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने पनि सरकारको घोषणा छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । सडक विभागले काठमाडौंको चक्रपथस्थित ग्वार्काे चोकमा १७ करोडभन्दा बढी लगानीमा चार सय ९० मिटर लम्बाइको फ्लाई ओभर बनाउँदै छ । यस्तै, काठमाडौंको कोटेश्वर चोकमा इन्टरसेक्सन निर्माण कार्य सुरु गर्ने पनि बजेटमा उल्लेख छ ।

अध्ययन सम्पन्न भइसकेको आयोजनाको अब आवश्यक प्रक्रिया पूरा गरेर त्यसको निर्माण अघि बढाउने सडक विभागका अधिकारी बताउँछन् । सरकारले सुरुङमार्ग, फ्लाई ओभर र इन्टरसेक्सन निर्माणका लागि पाँच अर्ब ६३ करोड विनियोजन गरेको छ । 

यसैगरी, आगामी आवमा सिस्नेखोला–नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने घोषणा गरेको छ । परियोजना रहेको दुई हजार ६ सय ८८ मिटरको मुख्य टनेल गत वैशाख ३ र दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल गत २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको छ । २२ अर्बभन्दा बढी लागतमा यो परियोजना बन्दै छ । सरकारले आगामी आर्थिक वर्ष ०८१÷८२ मा सुनकोशी र नारायणी नदीमा जलमार्ग निर्माण सुरु गर्ने घोषणा गरेको छ । बजेटमा नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहज र सुरक्षित हुने गरी टर्मिनल निर्माण गरिने उल्लेख छ ।

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ खन्ने कार्य पनि आगामी सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ । ठेक्का प्राप्त चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरसनले गत माघदेखि एक हजार एक सय २६ मिटर लामो उक्त सुरुङ निर्माण सुरु गरिसकेको छ । यस्तै, काठमाडौं–तराई द्रुतमार्गमा निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङको निर्माण पनि आगामी आवमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसमा एक हजार चार सय ३० मिटरको लेनडाँडा जेठ ४ गते र एक हजार ६ सय ६३ मिटरको धेद्रे जेठ १२ गते ब्रेक थ्रु भइसकेको छ । तीन हजार तीन सय ५५ मिटरको महादेवटार सुरुङ भने खन्ने काम जारी छ । त्यसमा हालसम्म दुई हजार एक सय ६० मिटर हाराहारी सुरुङ खनिसकिएको छ । 

जलस्रोत तथा सिँचाइमा ३६ अर्ब ८१ करोड बजेट 

  • नौमुरे बहुउद्देश्यीय आयोजना, कालीगण्डकी–तिनाउ, सुनकोशी–कमला, तमोर–चिस्याङलगायत बहुउद्देश्यीय अन्तरजलाधार जलपथान्तरण (सिँचाइ सुरुङ) आयोजनाको सम्भाव्यता अध्ययन गरी क्रमशः कार्यान्वयन प्रवेश गराइने 
  • महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर र त्रिभुवन बस्तीलगायत शाखा नहर विस्तारको कार्य अगाडि बढाइने 
  • सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवकर्स, पावरहाउसलगायत संरचना निर्माण सुरु 
  • कर्णाली प्रदेशका १० वटै जिल्लामा सञ्चालन हुने गरी एकीकृत कर्णाली सिँचाइ विकास आयोजनामा ८२ करोड विनियोजन 
  • बागमतीको सहायक नदी नागमतीमा बाँध निर्माण गरी वर्षाको पानी सञ्चय गर्न जलस्रोत संरक्षण आयोजना अगाडि बढाइने

सुझावित समाचार