पूर्वअर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई ३ प्रश्न

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

अर्थमन्त्रीले मंगलवार सदनमा प्रस्तुत गरेको  आगामी आर्थिक वर्षको बजेट कस्तो लाग्यो ?
अर्थमन्त्रीले धेरै कुरालाई ‘हिडन’ नै राख्नुभएको छ । बजेटमा आर्थिक सुधारको योजना र प्रस्ताव खासै छैन । ठेक्का लागिसकेका ठुला आयोजनाहरू अधकल्चो अवस्थामा छन् । तिनलाई पूरा गर्न बजेट आउनुपथ्र्यो तर यसतर्फ बजेटले खासै ध्यान दिएको देखिन्न । यसबाट बजेटरी सुधार हुने छाँट देखिन्न ।

चालु आवको तुलनामा आन्तरिक ऋण ८९ अर्ब बढाएर ३ खर्ब ३१ अर्ब पुर्याइएको छ । विदेशबाट आयात हुने स्याउ आलु र प्याजमा भ्याट लगाएर चालु आवमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको थियो । यसपटक उहाँले त्यो हटाइदिनुभएको छ । यसले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धा गर्न सजिलो हुने तर्क गरेर उहाँले झुटो बोल्नुभएको छ । यसले आयात गर्ने व्यापारीलाई खुसी बनाउनेबाहेक स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दैन । 

यस बजेटका सकारात्मक पक्ष केके हुन् ?
१९ खर्बको बजेट ल्याउने तयारी भइरहेको हल्ला चलिरहेको समयमा १८ खर्ब ६० अर्बको बजेट आउनुलाई पनि सकारात्मक नै मान्नुपर्छ । ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई पनि ठिकै नै मान्नुपर्ला । 

यसका नकारात्मक पक्ष  के के हुन् त ?
यसको सबैभन्दा नकारात्मक पक्ष भनेकै आन्तरिक ऋणमा ठुलो वृद्धि हो । यसले गर्दा बैंकमा जम्मा भएको पैसा सरकारी क्षेत्रमा प्रवाह हुन्छ । ब्याजदर बढ्न सक्छ । निजी क्षेत्रले ऋण नपाउने अवस्था आउन सक्छ । जसले गर्दा निजी क्षेत्रमा लगानीको अभाव हुन सक्छ । यसले सरकारको सावाँ र ब्याजको दायित्व बढाउँछ ।

सुझावित समाचार