मापसे गर्नेलाई अब सडकमा खटाइने

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण
मापसे गर्नेलाई अब सडकमा खटाइने

फाइल तस्बिर

महिनावारीको चार दिन महिला ट्राफिकलाई ड्युटीमा नखटाइने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई सजायस्वरूप प्रहरीसँगै ट्राफिक व्यवस्थापनमा खटाइने बताएका छन् । ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्रीको योजना छ ।

सामाजिक सञ्जालमार्फत गृहमन्त्रीले मंगलबार यससम्बन्धी जानकारी दिएका हुन् । महिनावारीको चार दिन महिला ट्राफिकलाई ड्युटीमा नखटाउने र ट्राफिक नियम मिच्ने चालकलाई नै स्वयंसेवकमा खटाउने उनको योजना छ ।

‘अबदेखि महिला ट्राफिक प्रहरीले महिनावारीका चार दिन सडकमा ड्युउटी गर्नुपर्दैन, मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,’ उनले लेखेका छन् ।

प्रहरी प्रधान कार्यालयले भने यसका लागि कानुनी व्यवस्था भइनसकेको जनाएको छ । हालको यातायातसम्बन्धी कानुनमा नियम मिच्नेलाई जरिवानाबाहेक अन्य सजायको प्रावधान छैन ।

त्यसकारण सडकमा खटाउनका लागि कानुन नै संशोधन गर्नुपर्ने अवस्था रहेको एक उच्च प्रहरी अधिकारीले बताए । अर्काेतर्फ स्वयंसेवकका रूपमा राम्रा मान्छेलाई खटाउने अवधारणा रहेको र नियम मिच्नेलाई नै खटाउँदा प्रभावकारी हुन नसक्ने ट्राफिक प्रहरी अधिकारीको टिप्पणी छ । 

See More On

सुझावित समाचार