कृषि दशक घोषणा, बजेट कटौती

०८१ देखि ०९१ लाई कृषिमा लगानी दशक घोषणा गरिएको छ, तर चालू आर्थिक वर्षको तुलनामा एक अर्ब ६९ करोड रुपैयाँले बजेट घटाएर ५७ अर्ब २९ करोड बजेट विनियोजन

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले यस वर्ष कृषि तथा पशुपक्षी क्षेत्रमा चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार घटाए पनि आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक बजेटमा कृषि र पशुपक्षीको क्षेत्रमा उत्पादन र व्यवसायीकरणमा जोड दिएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट वक्तव्यमार्फत व्यावसायिक उत्पादनलाई र आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित व्यावहारिकतामा जोड दिएका हुन् ।चालू आर्थिक वर्षको तुलनामा आगामी अर्थिक वर्षको बजेट एक अर्ब ६९ करोड रुपैयाँले घटाएको छ । आगामी आर्थिक वर्षका लागि ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । 

सरकारले ०८१ देखि ०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को वार्षिक वक्तव्यदेखि नीति तथा कार्यक्रमसहित विशेष प्राथमिकता पाएको यस ‘कृषिमा लगानी दशक’ घोषणालाई सरकारले बजेट कार्यक्रममा समेत विशेष प्राथमिकताका साथ उठाएको छ । यस लगानी दशकमा विशेष गरी कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य रहेको छ । त्यस्तै, निजी क्षेत्रको सहकार्यमा लगानी अभिवृद्धि बजार सम्भाव्यता एवं पारिस्थितिकीय विशिष्टताअनुकूल संघ, प्रदेश र स्थानीय तहबाट कृषिउपजको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवद्र्धन गर्ने सरकारको आगामी कार्ययोजना रहेको छ ।

करार खेतीलाई सरकारले आगामी वर्ष प्रवद्र्धन गर्र्ने लक्ष्य लिएको छ । कृषिउपजको उचित मूल्य र बजार सुनिश्चित गर्नुका साथै सरकार, किसान र व्यवसायी सहभागी हुने गरी करार खेतीलाई प्रवद्र्धन गर्ने भएको हो । त्यसका लागि आवश्यक पर्ने मल, बिउलगायत कृषि प्रसार सेवा र कर्जामा ब्याज अनुदान प्रदान गर्ने योजना सरकारको छ । 

व्यावसायिक कृषकलाई करमा छुट 
हिमाल र पहाडमा ५० रोपनी र तराईमा १० बिघाभन्दा बढी जमिन एकीकरण र चक्लाबन्दी गरी व्यावसायिक रूपमा सामूहिक खेती, पशुपक्षीपालन एवं जडीबुटी खेती गर्ने व्यक्ति, फार्म तथा सहकारीलाई ब्याज अनुदान, प्राविधिक सहयोग र मेसिनरी आयातमा कर छुट प्रदान गर्ने भएको छ ।

 रैथाने बालीको उत्पादन बढाउन छुट्टै रकम 
हराउँदै गएको रैथाने बालीलाई विस्तार गर्नुका साथै चैते धान र हिँउदे मकै विस्तारमा सरकारले यो वर्ष जोड दिएको छ । त्यस्तै, मसिनो तथा वासनादार धान, उखु, मकै, दुध, माछालगायत कृषिबालीको उत्पादन प्रवद्र्धन गर्ने लक्ष्य छ । 

 फलफूलका लागि एक अर्ब ४४ करोड 
फलफूल क्षेत्रको विकासका लागि मात्रै यस वर्ष एक अर्ब ४४ करोड रुपैयाँ बजेट छुट्याएको छ । पहाडी र उच्च पहाडी क्षेत्रका दुई हजार हेक्टर जग्गामा फलफूल खेती विस्तार, फलफूलको कम्तीमा सात लाख गुणस्तरीय बिरुवा उत्पादन गर्ने गरी चौध सरकारी फार्मको क्षमता विस्तार । 

 रासायनिक मल अनुदानमा बजेट घट्यो 
सरकारले कृषकलाई समयमै मलखाद आपूर्ति सुनिश्चित गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड विनियोजन गरेको हो । चालू आर्थिक वर्षमा मल अनुदानका लागि ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।   

 व्यावसायिक कृषि गर्न एक अर्ब १२ करोड 
राजमार्गकेन्द्रित तीन सय उत्पादक संस्थालाई सुरुवाती पुँजी उपलब्ध गराउने र उत्पादित वस्तुको बजार सुनिश्चित हुने व्यवस्था गर्ने बजेटमा उल्लेख छ । 

 नश्ल सुधारका लागि ३८ करोड
नश्ल सुधारमार्फत पशुक्षेत्रको विकास र विस्तार गर्न सरकारले नश्ल सुधारका लागि छुट्टै बजेटको प्याकेज ल्याएको छ । तीनै तहको सहकार्य र निजी क्षेत्रसमेतको सहकार्यमा सबै प्रदेशमा गाई–भैँसीपालन स्रोत केन्द्रको विकास गर्ने भएको छ ।

सुझावित समाचार