तीन करोड ८४ लाखको लागतमा संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका– १ स्थित घिमिरे गाउँमा सुविधासम्पन्न सोमनाथ स्मृति इन्डोर हल (कभर्ड हल) निर्माण भएको छ । कोशी प्रदेशभित्रका १४ जिल्लाकै सोमनाथ स्मृति कभर्ड हल उत्कृष्ट रहेको जनाएको छ ।
खाँदबारी नगरपालिका मेयर महेश थपलियाले सोमबार निर्माण पूरा भएको कभर्ड हलको उद्घाटन गरेका छन् । ‘अहिलेसम्म सुविधासम्पन्न कभर्ड हलको अभाव थियो । अब खेलाडीहरूले खुला ठाउँमा खेल्नुपर्ने बाध्यता हटाएको छ,’ मेयर थपलियाले भने । नवनिर्मित कभर्ड हलभित्र जुनसुकै साना–ठूलो खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने बताए ।
राष्ट्रियस्तरको खेल आयोजना गर्नसम्बन्धी निकायलाई उनले आग्रह गरेका छन् । ‘यस खेल कभर्ड हलमा सबैले प्रतियोगिता आयोजना गर्न सक्छन्,’ मेयर थपलियाले भने, ‘आगामी दिनमा यसले खेल क्षेत्रमा थप उचाइमा पुर्याउने विश्वास छ ।’ कोशी प्रदेश सरकार र खाँदबारी नगरपालिकाको संयुक्त लगानीमा कभर्ड हल बनेको हो । जग्गादातालाई सम्बोधन गर्दै कभर्ड हलको नाम ‘सोमनाथ मेमोरियल’ राखिएको हो ।
सात महिनाअघि नै निर्माण सम्पन्न
कभर्ड हल निर्माणको ठेक्का अरुण–वरुण निर्माण सेवा कम्पनीसँग जेठ, २४ २०७९ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार कभर्ड हल जेठ २४ २०८१ भित्र सम्पन्न हुनुपर्ने थियो । पूर्वनिर्धारित समयभन्दा सात महिनाअघि नै कभर्ड हल सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । निर्माणको काम भ्याटबाहेक तीन करोड ८४ लाख ८३ हजारमा नै निर्माण गर्ने गरी सम्झौता गरेको थियो । म्यादभन्दा अगाडि नै काम सम्पन्न गरेबापत निर्माण कम्पन्नीले थप २३ लाख बोनससमेत प्राप्त गरेको छ ।
जग्गादाता डा. सोहन घिमिरे र उनकी श्रीमती सुमना घिमिरेलाई खाँदबारी नगरपालिकाले सम्मान गरेको छ । घिमिरे परिवारले बुबा सोमनाथ घिमिरेको नाममा हिमालय माध्यमिक विद्यालय खाँदबारीलाई जग्गा दान गरेको हो । खाँदबारी नगरपालिकाले भाडामा लिई कभर्ड हल निर्माण गरेको हो ।