चिनियाँ नाका टिप्ताला खुला भएसँगै ओलाङचुङगोलाका नेपालीले तिब्बतको बजारमा गएर व्यापार गर्न सुरु गरेका छन् । कोरोना संक्रमणका कारण बन्द भएको टिप्ताला नाका चार वर्षसँगै ओलाङचुङगोलावासीले चीनको तिब्बतस्थित डिङ्जे काउन्टीको रिउँ बजार पुगेर व्यापार गर्न थालेको तेन्जिङ वालुङ शेर्पाले जानकारी दिए । फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा उत्पादित गलैँचाका साथै विभिन्न सामग्री तिब्बतको बजारमा व्यापारका लागि लगेको उनको भनाइ छ ।
द्विदेशीय सिमाना टिप्ताला भञ्ज्याङमा रहेको चीनको अध्यागमन विभागले उनको फिंगरप्रिन्ट, आँखा र जिउको तस्बिर लिएर सम्पूर्ण रेकर्ड राखेको र त्यहाँबाट गाडीमा चढाएर रिउँ बजार पुर्याएको उनले बताए । रिउँ बजारमा लागेको नेपाली र तिब्बतीयन व्यापारिक मेलामा नेपाली व्यापार गर्न पुगेका हुन् ।
स्थानीय चौँरीबाट उत्पादित घिउ, हातले बुनेको गलैँचा, चियापत्ती, चाउचाउ, डाउन ज्याकेट, प्रेसरकुकरलगायत रिउँ बजारमा बिक्री हुने गरेको छ
चार वर्षपछि खुलेको नाका कटेर गएका नेपालीले व्यापारिक केन्द्रमा गलैँचा, घिउ, चियापत्तीलगायतको व्यापार गरिरहेका छन् । ओलाङचुङगोलामा १२ हजार रुपैयाँमा बिक्री हुने गलैँचा तिब्बतको बजारमा १८ देखि २० हजार रुपैयाँसम्ममा बिक्री हुन तेन्जिङले बताए । केही स्थानीय आफ्नो सामान लिएर रिउँ बजार गएको र केहीले टिप्ताला भञ्ज्याङसम्म पुर्याएर बिक्रीका लागि पठाएका छन् ।
रिउँ बजार पुगेर व्यापार गरिरहेका शेर्पाले स्थानीयस्तरमा चौँरीबाट उत्पादित घिउ, हातले बुनेको गलैँचा, चियापत्ती, चाउचाउ, डाउन ज्याकेट, प्रेसरकुकरसमेत व्यापार भइरहेको बताए । नेपालतर्फबाट गएका ३३ जना व्यापारीलाई तिब्बत प्रशासनले व्यापारका लागि आठवटा सटर उपलब्ध गराएको छ ।
आफूले ल्याएका सामग्री बिक्री भइसक्न लागेको तेन्जिङले बताए । तिब्बतबाट नेपालीलाई बोलाउँदै व्यापारिक प्रयोजनका सामान लिएर आउन आग्रह गरिएको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए । मे २५ देखि पाँच दिनका लागि प्रवेश दिएको उनीहरूलाई ३१ तारेखमा फर्काउने तयारी चिनियाँ अधिकारीले गरेका छन् । २५ मेमा प्रवेश दिने भनिए पनि उनीहरूलाई २४ तारेखमै चिनियाँ अधिकारीले बोलाएपछि गोलावासी रिउँ पुगेका थिए ।