नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैइनी गाउँपालिका– ३ बस्ने १३ वर्षीय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी छन् । पुनको राति नै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार ना.३ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा मध्यराति चारवटा सवारीसाधन एक–आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
रिजालका अनुसार काठमाडौंबाट प्युठानतर्फ जान आउँदै गरेको बा.४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना.३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना.७ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ख ८९६८ नम्बरको बस एक–आपसमा ठक्कर खाएका हुन् ।