चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार सवारीसाधन एक–आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गएराति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा.४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना.३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना.७ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ख ८९६८ नम्बरको बस एक–आपसमा ठोक्किएका थिए । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।
दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारीसाधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा तथा चारजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।