सीता एयरले ठक्कर दिँदा घाइते भएका स्टेसन प्रमुखको बी एन्ड बी अस्पतालमा उपचार हुँदै

शुक्रबार, ११ जेठ, २०८१
डिजिटल संस्करण

मुगुस्थित रारा विमानस्थलमा बिहीबार जहाजको पंखाले छुँदा घाइते भएका सीता एयरका मुगु स्टेसन प्रमुख धीरेन्द्र भामको ललितपुरको ग्वार्खोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । घाइते भएपछि अचेत अवस्थामा रहेका उनलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख  प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार बिहीबार  बिहान ११:३० बजेतिर रारा विमानस्थलबाट नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको ट्विनेटर जहाजको दायाँपट्टिको पंखाले भामलाई छोएको थियो । 

भामले चालकलाई जहाज उडान गर्न संकेत गरिरहेका थिए । जहाजको इन्जिन स्टार्ट भइरहेका वेला चालकले बोलाएपछि भाम जहाजको चालक कक्षतर्फ गई चालकसँग कुराकानी गरी फर्कँदै गर्दा  घुम्न सुरु गरेको  पंखाको छेउले  छुँदा उनी घाइते भएका थिए  ।

घाइते भामको पाखुरा, हत्केला, औँलामा पंखाको छेउले काटेको र नेपालगन्ज नर्सिङ होमले रिफर गरेपछि काठमाडौं ल्याई उपचार भइरहेको र अहिले उनी खतरामुक्त अवस्थामा रहेको भनी चिकित्सकहरूले बताएको भामका साला प्रेमराज कार्कीले टेलिफोनमा जनाए ।

सुझावित समाचार