लाइसेन्स नभएका चालकले चलाएको कारले ठक्कर दिएर पैदल यात्रुको ज्यान गएपछि चालकलाई नक्कली लाईसेन्स दिइएको घटनामा संलग्न सात जना विरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । अघिल्लो वर्ष असारको यस घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छानविन गरी सरकारी लिखतसम्बन्धि कसुरमा मुद्दा दायर गरेको हो ।
कारले ठक्कर दिएर पैदलयात्रुको घटनास्थलमै मृत्यु भएपछि सम्भावित सजायबाट जोगिन चालकलाई लाभ लिएर गिरोहले नक्कली लाइसेन्स दिएको थियो । त्यही लाईसेन्स लिएर चालक हिरासत मुक्त भएका थिए । चालकसहित नक्कली लाइसेन्स दिने प्रक्रियामा संलग्नलाई सिआईबीले प्रतिवादी बनाएको छ ।
यस मुद्दामा यात्रुलाई ठक्कर दिने कारचालक सशांक बस्याल र उनका पिता ठानेश्वर बस्याललाई प्रतिवादी बनाइएको छ । त्यस्तै, तत्कालीन समयमा यातायात व्यवस्था विभागमा कम्प्युटर ईन्जिनियर रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् सुरज प्रकाश अर्याल, यातायात व्यवस्था कार्यालय, बुटवलमा सहायक कम्प्युटर अपरेटरमा करारमा कार्यत् नारायण प्रसाद पाण्डे तथा यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिस भट्टविरुद्ध पनि मुद्दा दायर भएको छ । त्यस्तै, नक्कली लाइसेन्स जारी गर्ने प्रक्रियामा संलग्न अन्य दुई जना अकरामुद्दिन मुसलवान र अरुण कार्की भन्ने लट्टु नाउलाई पनि प्रतिवादी कायम गरिएको छ । अर्याल, पाण्डे र भट्टबाहेक अरुलाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ ।
यसरी दिइएको थियो मान्छे मार्ने चालकलाई लाइसेन्स
सम्भावित दण्ड सजायबाट छुटकारा पाउन गाडीले किचेर मान्छे मार्नेलाई बिचौलियाले कर्मचारीको मिलेमतोमा लाइसेन्स दिइएको थियो । यो घटना मान्छे मार्ने गाडीचालकलाई कसरी लाइसेन्स दिइएको थियो भन्ने ‘केस स्टडी’ नै बनेको छ । गत वर्ष ०८० असारको पहिलो साता कारले ठक्कर दिँदा पैदलयात्री स्याङ्जाका ६४ वर्षीय कृष्णप्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भयो । घटनालगत्तै प्रहरीले कारचालकलाई नियन्त्रणमा लिएर हिरासतमा राख्यो । चालक थिए, साढे १८ वर्षका कालिकाकोट– ५, स्याङ्जा स्थायी ठेगाना भएका शशांक बस्याल । प्रहरी नियन्त्रणमा पुगेका बस्यालको कागजपत्र खोज्दा उनीसँग गाडीको लाइसेन्स नै नभएको भेटियो । उनीसँग ‘ए क्याटेगरी’को मोटरसाइकलको मात्र लाइसेन्स थियो ।
लाइसेन्स नभएको चालकले गाडी चलाउँदा पैदलयात्रुको मृत्यु भएको घटनामा चालकमाथि सवारी ज्यान मुद्दामा अधिकतम २० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । लामो जेल सजाय हुने भएपछि बस्यालको परिवार आत्तिएको थियो । यसैलाई मौका ठानेर नक्कली लाइसेन्स बनाउने गिरोह उनको आफन्तसँग जोडिन पुग्यो । गिरोहले नै बस्यालका आफन्तसँग तुरुन्तै गाडीको लाइसेन्स तयार गर्न सकिने र त्यसलाई देखाएर शशांकलाई जेलमुक्त गराउन सकिने उपाय बतायो । गिरोहको सल्लाहमा बस्यालको आफन्त सहमत भएपछि नक्कली लाइसेन्स बनाउने प्रक्रिया सुरु भयो ।
नक्कली लाइसेन्सको धन्दा नयाँ होइन । यातायात व्यवस्था विभाग र कार्यालयमा वर्षौँदेखि यो धन्दा चलिरहेको छ । गिरोहको योजनामा जेलमुक्त गराउन शशांकको नाममा ‘ए, बी क्याटेगरी’को गाडीको लाइसेन्स केही दिनमै जारी भयो । नक्कली लाइसेन्सको गिरोहले ३२ वर्षीय शिवपूजन मल्लाह नामका व्यक्तिको लाइसेन्स किर्ते गरी शशांक बस्यालको नाममा जारी गरिदिएको खुलेको छ । महुवा– १ कपिलवस्तु स्थायी ठेगाना भएका मल्लाहको नाम, थर, जन्ममिति, नागरिकता प्रमाणपत्र नम्बर, बाबुको नाम र ठेगाना फेरेर शशांक बस्यालको विवरण हालेर लाइसेन्स जारी गरिएको थियो ।
गिरोहले डाटाबेसभित्रै छिरेर लाइसेन्सधारीकै विवरण परिवर्तन गरेर अर्काे व्यक्तिलाई त्यही नम्बरको लाइसेन्स तयार गरिदियो । सवारी ज्यान मुद्दामा हिरासतमा रहेका बस्याललाई लाइसेन्स दिने गिरोहमा रूपन्देही यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र शाखामा करारमा कार्यरत कम्प्युटर अप्रेटर नारायण पाण्डे, कार्यालयकै पूर्वकम्प्युटर अप्रेटर लक्ष्मण पाण्डे, पछिल्लोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल, यातायात व्यवस्था विभाग तथा अन्तर्गतका कार्यालयमा कम्प्युटर इन्जिनियरका रूपमा दशकभन्दा बढी समय करारमा काम गरेका पूर्वकर्मचारी हरीश भट्ट र यातायात व्यवस्था कार्यालय, दाङमा कार्यरत कम्प्युटर अप्रेटर नयिम भन्ने अक्रामुद्दिन मुसलमान संलग्न रहेको खुलेको छ ।
फर्जी कागजातका आधारमा लाइसेन्स प्रिन्टको अर्को धन्दा, सातजनाविरुद्ध मुद्दा दर्ता हुँदै
फर्जी कागजात पेस गरेर जनही रकम उठाएर गैरकानुनी तरिकाले लाइसेन्स प्रिन्ट गरेर वितरण गरेको अर्को प्रकरणमा पनि सिआइबीले अनुसन्धान टुंग्याएको छ । छानबिन टुंग्याएर सिआइबीले मंगलबार राय सहमतिका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरेको छ ।
कार्डको अभाव हुन थालेपछि अध्ययन र रोजगारीका लागि विदेश जानेलाई लाइसेन्स दिन नसकिएको अवस्थामा सहजीकरणका लागि यातायात व्यवस्था विभागले ‘फास्ट प्रिन्टिङ’को व्यवस्था गरेको थियो । त्यसअनुसार भिसा, पासपोर्ट, हवाई टिकट तथा विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) र श्रमिकका लागि श्रम स्वीकृति लिएको रसिदका आधारमा तीन दिनमा लाइसेन्स दिइन्थ्यो । तर, ‘फास्ट प्रिन्टिङ’ सुविधाको दुरुपयोग गरेर फर्जी कागजातका आधारमा लाइसेन्स प्रिन्ट गरेको भन्दै यसमा सिआइबीले सातजनालाई प्रतिवादी बनाएको छ । जसमा हरीश भट्ट, प्रदीप सुनुवार, मिलन बास्तोला, बिर्जुकुमार चौधरी, वसन्त पाण्डे, गणेश भण्डारी र दीपा न्यौपाने छन् ।
लिखित र ट्रायल पास गरेको लामो समयसम्म पनि लाइसेन्स दिन नसकेपछि विदेश जानेका लागि सहजीकरण गर्ने भन्दै यातायात व्यवस्था विभागले व्यवस्था गरेको ‘फास्ट प्रिन्टिङ’को दुरुपयोग गर्दै अर्कै व्यक्तिको पासपोर्ट तथा नो अब्जेक्सन लेटर प्रयोग गरेर लाइसेन्स वितरणको धन्दा चलेको छानबिनले देखाएको छ । यसरी ठूलो संख्यामा लाइसेन्स प्रिन्ट भएको छानबिनबाट भेटिएको छ । जनही न्यूनतम पाँच हजार रुपैयाँ लिएर यस्तो प्रिन्ट हुने गरेको अधिकारीहरू बताउँछन् ।
संगठित प्रकृतिको गैरकानुनी काम, गिरोहमा कसको कस्तो संलग्नता ?
सवारी ज्यान मुद्दामा हिरासतमा रहेका बस्याललाई लाइसेन्स दिने योजनामा सुरुमै लक्ष्मण पाण्डे जोडिएका छन् । समग्र नक्कली लाइसेन्स प्रकरणमै पाण्डे प्रमुख भूमिकामा देखिएका हुन् । हाल उनी फरार छन् । विभागमै करारमा काम गरेर पछि बिचौलिया बनेका पाण्डेकै योजनामा बस्यालको नाममा लाइसेन्स जारी गरिएको थियो ।
पाण्डेको योजनाअनुसार यातायात व्यवस्था विभागका तत्कालीन कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्यालले नक्कली लाइसेन्स बनाउन ‘युजर’ सिर्जना गरेका देखिन्छन् । युजरको ‘पासवर्ड’ अर्यालले बिचौलिया पाण्डेलाई दिए । आफूले पाएको युजर र पासवर्ड पाण्डेले यातायात व्यवस्था कार्यालय, दाङमा कार्यरत कम्प्युटर अप्रेटर मुसलमानलाई दिएका थिए । पाण्डेको योजनामा अर्यालले तयार गरेको युजर, पासवर्ड पाण्डेमार्फत पाएपछि त्यसैका आधारमा मुसलमानले शिवपूजन मल्लाहको बाबुको नाम र थर परिवर्तन गरिदिए । त्यस्तै, मल्लाहको जन्ममिति र फोटो परिवर्तन गर्ने काम रुपन्देही यातायात व्यवस्था कार्यालयका करारमा कार्यरत कम्प्युटर अप्रेटर नारायण पाण्डेले गरेका थिए । यति गरेपछि पूर्वयोजनामुताबिक प्रणालीबाट मल्लाहको नाम, थर मेटाएर शशांक बस्यालको नाम, थर कायम गर्ने कार्य भने विभागका तत्कालीन कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्यालले गरिदिए ।
शिवपूजन मल्लाहको नाममा रहेको लाइसेन्स किर्ते गरी बस्यालको नाममा जारी गरिएको थियो । यसरी ‘डिजिटल फर्म’मा जारी भएको लाइसेन्सको छपाइको काम यातायात व्यवस्था विभाग तथा अन्तर्गतका कार्यालयमा कम्प्युटर इन्जिनियरका रूपमा दशकभन्दा बढी समय करारमा काम गरेका पूर्वकर्मचारी भट्टले गरेका थिए । तत्कालीन समयमा वैदेशिक रोजगारी तथा अध्ययनमा जाने तथा अत्यावश्यकीय अवस्थामा रहेकालाई मात्र लाइसेन्स छपाइ गर्ने भूमिकामा रहेका भट्टले आफूलाई प्राप्त अधिकार दुरुपयोग गरी गिरोहको योजनामा सवारी ज्यान मुद्दामा हिरासतमा रहेका व्यक्तिको गैरकानुनी रूपले जारी भएको लाइसेन्स प्रिन्ट गरिदिएका थिए । यो लाइसेन्स शशांक बस्यालका आफन्तले लिएर गए ।
यसरी शिवपूजनको नाममा रहेको लाइसेन्सको विवरण फेरेर तयार भएको आफ्नो नामको नयाँ लाइसेन्स अदालतमा बुझाई बस्याल हिरासतमुक्त भएका थिए । किर्ते गर्ने कार्य संगठित रूपमा सम्पन्न भएको सिआइबीको निष्कर्ष छ । गैरकानुनी कार्य कतिसम्म गरिएको थियो भने वारदातलाई पूर्णता दिएपछि अपराधलाई ढाकछोप गर्न शशांक बस्यालको ‘ए क्याटेगरी’को लाइसेन्समा रहेको फोटोलाई मल्लाहको फोटो परिवर्तन गर्न प्रयोग गरिएको फोटोले विस्थापित गरिएको थियो । त्यो काम विभागमा कार्यरत अर्यालले नै गरेका थिए ।