भारतमा लोकसभाका लागि पाँचाैँ चरणको मतदान सम्पन्न भएको छ । लोकसभाको ४९ सदस्यका लागि सोमबार मतदान भएको हो । उत्तर प्रदेशका १४, महाराष्ट्रका १३, पश्चिम बंगालका सात, विहारका पाँच, झारखण्डका तीन, उडिसाका पाँच, जम्मु–कस्मिर र लद्दाखका एक–एक सिटका लागि मतदान भएको हो । यस चरणमा विहार, जम्मु–कस्मिर, लद्दाख, झारखण्ड, महाराष्ट्र, उडिसा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान भएको छ ।
निर्वाचन आयोगका अनुसार पाँचौँ चरणको मतदानमा चार करोड ६९ लाख पुरुष, चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रोलिंगीसहित आठ करोड ९५ लाखभन्दा बढी मतदाताले ६९५ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।
पाँचौँ चरणमा विभिन्न निर्वाचन क्षेत्रमा राहुल गान्धी, भाजपा नेता राजनाथ सिंह, स्मृति इरानी, राजीव प्रताप रुडी, पीयूष गोयल, उज्ज्वल निकम, करणभूषण सिंह, एलजेपी (रामविलास) प्रमुख चिराग पासवान, जेकेएनसी प्रमुख उमर अब्दुल्ला र राजद नेता रोहिणी आचार्य चुनावी सफलताको खोजीमा छन् ।