एक समयको कुरा हो । एक गाउँमा निकै धनी महाजन बस्थे । उनको प्रशस्त जग्गा–जमिन थियो । खेतबारीमा प्रशस्त तरकारी, अन्न तथा फलफूल खेती हुन्थ्यो । उनी अनेक प्रकारका व्यापार पनि गर्थे । उनको फलफूलको बगैँचा निकै ठूलो क्षेत्रमा फैलिएको थियो । उनको बगैँचामा अनेक प्रकारका स्वादिला अनार फल्थे, जुन अन्यत्र पाउन कठिन थियो । उनले निकै दक्ष माली नियुक्त गरेर बगैँचाको रेखदेख गराउँथे ।
व्यापार निकै फैलिएकाले व्यापारीसित सम्पत्तिको कुनै कमी थिएन । उनी निकै उदार स्वभावका थिए । त्यसैले, उनी आफ्नो बगैँचामा फलेको अनार निःशुल्क वितरण गरेर पुण्य आर्जन गर्न चाहन्थे । त्यसैले, उनले एकपटक शिशिर ऋतुको समयमा बगैँचाबाट रसिला अनार टिप्न लगाई तिनलाई चाँदीको किस्तीमा सजाएर आफ्नो मूलढोकाबाहिर राखिदिए । त्यसमा एउटा सूचनापत्र पनि राखियो । पत्रमा लेखिएको थियो– नमस्कार, निःशुल्क अनारको स्वाद लिन यहाँहरू सबैमा विनम्र अनुरोध छ । चाहेजति अनार लान सक्नुहुनेछ ।
तर, आजको घोर कलियुगमा मानिसले यस्तो अनुरोध पत्याउन सकेनन् । उनीहरूले पक्कै पनि यसमा व्यापारीको कुनै न कुनै चाल लुकेको हुनुपर्छ भन्ने सोचेर अनार छुँदा पनि छोएनन् । यस वर्षको सिजनमा उनको एउटै अनार कसैले छोएन । निराश भएर उनले सबै अनारको जुस बनाएर बजारमा बिक्री गरे ।
अर्को वर्ष भने बगैँचामा अनार फलेपछि व्यापारीले फरक सूचना जारी गराए । जसमा लेखिएको थियो– हामीसित अन्य सबै स्थानको भन्दा फरक स्वादिला र रसिला अनार उपलब्ध छन् । तर, तिनको मूल्य पनि अन्यत्रको भन्दा दोब्बर पर्छ । आवश्यकता पर्नेले सम्पर्क राख्नुहोला । यो सूचना राखेको केही दिनमै उनको बगैँचाका सबै अनार बिक्री भए । उनको आसपासका बस्तीबाट मात्र नभई निकै टाढाटाढाबाट समेत मानिस अनार किन्न तँछाडमछाड गर्दै उर्लिए ।