हत्या प्रयासबाट जोगिएका स्लोभाकियाली प्रधानमन्त्रीको स्वास्थ्य स्थिर

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

गोली लागेर घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको स्वास्थ्य अवस्था स्थिर छ । प्रधानमन्त्री फिकोलाई बुधबार एक बन्दुकधारीले गोली हानी हत्या–प्रयास गरेका थिए । आक्रमणपछि बिहीबार र शुक्रबार उनको दुईवटा सफल शल्यक्रिया भएका छन् ।

स्लोभाकको मध्यसहर बाँस्का बाइस्ट्रिकाको एक अस्पतालमा उनको शल्यक्रिया गरिएको हो । उनको अवस्था ‘सुधारोन्मुख’ रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फिकोलाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमन्त्री जुजाना डोलिंकोभाले भने, ‘दुई घण्टा लगाएर गरिएको शल्यक्रियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ‘सकारात्मक’ पूर्वानुमान गर्न मद्दत गरेको छ ।’ तर, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गम्भीर रहेको उनले बताए ।

स्लोभाकियाका सञ्चारमाध्यमका अनुसार आक्रमणमा संलग्न ७१ वर्षीय कवि जुराज सिन्तुलालाई राजधानी ब्रातिस्लाभाको उत्तरपूर्वमा रहेको पेजिनोकस्थित विशेष दण्ड अदालतले पूर्पक्षका लागि थुनामा राखेको छ । सिन्तुलामाथि सुनियोजित हत्या प्रयासको आरोप लागेको छ ।

सेन्ट्रल माइनिङ टाउन ह्यान्डलोभामा भएको सरकारी बैठकपछि समर्थकलाई अभिवादन गर्न हिँडिरहेका फिकोलाई गोली हानिएको थियो । रक्षामन्त्री तथा फिकोका निकटतम राजनीतिक सहयोगी उपप्रधानमन्त्री रोबर्ट कालिनाकले भने, ‘प्रधानमन्त्री फिकोको अवस्था अझै गम्भीर छ, त्यसैले आगामी केही दिन उनलाई उपचार गरिराखिएको अस्पतालबाट डिस्चार्ज गर्ने अवस्था छैन ।’ 

उनान्साठी वर्षीय फिकोले उनको मध्यमार्गी दलले निर्वाचनमा बहुमत ल्याएपछि गत अक्टोबरमा पदभार ग्रहण गरेका थिए । रुस र स्लोभाकियाको छिमेकी मुलुक युक्रेनबीच शान्ति स्थापनाका लागि र किभलाई दिइने सैन्य सहायता रोक्ने प्रस्तावमाथि अभियान चलाएका थिए । सो अभियानकै कारण उनी चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्न सफल भएका थिए ।

सुझावित समाचार