एपिएफ लगातार चौथोपटक च्याम्पियन

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम लगातार तेस्रोपटक ललितपुर मेयर कपको फाइनलमा एपिएफसँग पराजित 

एपिएफ क्लबले लगातार चौथोपटक ललितपुर मेयर कप महिला टी– २० क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । त्रिवि क्रिकेट मैदानमा एपिएफले उपाधि रक्षा गर्ने क्रममा सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक जित निकाल्यो । 

एपिएफले पहिलो संस्करणमा कोशी प्रदेशलाई हराएको थियो । त्यसपछिका दुई संस्करणमा एपिएफले सुदूरपश्चिममाथि जित निकालेको थियो । पाँच टोली सहभागी प्रतियोगिताको लिगमा पनि एपिएफले सुदूरपश्चिमलाई हराएको थियो । पहिलो ब्याटिङ गरेको एपिएफले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो ।

प्रत्युत्तरमा सुदूरपश्चिमले २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ५३ रनको योगफल बनायो । च्याम्पियन हुने लक्ष्यका साथ ब्याटिङ गरेको सुदूरपश्चिमको सुरुवात कमजोर रह्यो । इनिङ्सको ६.४ ओभरमा सुदूरपश्चिमले पाँच विकेट गुमाएर ४९ रन बनाएको थियो । त्यसपछि कविता जोशी र लक्ष्मी साउदले छैटौँ विकेटका लागि १०४ रनको साझेदारी गर्दै टोलीलाई जितको आशा दिलाएका थिए । सुदूरपश्चिमलाई अन्तिम ओभरमा पाँच रन आवश्यक थियो । तर, सुदूरपश्चिमले आवश्यक रन बनाउन सकेन् । 

सुदूरपश्मिमकी कविता सर्वाधिक ६७ रनको योगदान दिइन् । उनले ४५ बलमा सात चौका र तीन छक्का प्रहार गरिन् । लक्ष्मी २९ रनमा नट आउट रहिन् । उनले ३५ बलमा दुई चौका हिर्काइन् ।  

बलियो ओपनिङ साभेदारी
एपिएफको बलिङमा करुणा भण्डारीले दुई र सुमन विष्टले एक विकेट लिएका थिए । करुणाबाहेक सबै बलर महँगा रहे । यसअघि ब्याटिङ गरेको एपिएफका ओपनरद्वय राजमती ऐरी र सीता रानामगरले ९१ रनको अर्धशतकीय साझेदारी गरेका थिए । राजमती ५० रन बनाउन ४६ बलमा सात चौका प्रहार गरिन् । कप्तान सीता ७४ रनको योगदान दिइन् । उनले ५५ बलमा सात चौका प्रहार गरेकी थिइन् । 

सर्वोत्कृष्ट खेलाडी रानामगर 
च्याम्पियन टोली एपिएफकी अलराउन्डर सीता रानामगर प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेकी छिन् । उनले कुल ५ खेलमा १ सय ४२ रन बनाइन् । साथै, बलिङ क्रममा उनले ४ विकेट लिइन् । यसैगरी, सुदूरपश्चिमकी सम्झना खड्काले उत्कृष्ट ब्याट्सम्यान भइन् । आयोजक ललितपुरकी कृतिका मरासिनी उत्कृष्ट बलर भइन् । उनले ४ खेलमा ११ विकेट लिएकी थिइन् ।

सुझावित समाचार