सन्तोषीले पेरिस ओलम्पिक खेल्ने पक्का

शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा म्याराथनकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्न निश्चित गरेकी छिन् । युनिभर्सियालिटी कोटामा उनले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने भएकी हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथलेटिक्स संघबाट युनिभर्सियालिटीका लागि उनको नाम सिफारिस भएको थियो । 

पेरिस ओलम्पिकमा सन्तोषीले प्रतिस्पर्धा गर्ने पक्का भएको एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले नयाँ पत्रिकालाई बताए । सन्तोषीले ओलम्पिक खेल्ने सपना पूरा भएको प्रतिक्रिया दिएकी छिन् । ‘यसअघि पेरिस ओलम्पिक खेल्ने वा नखेल्ने दोधारमा थिएँ, अब खेल्न पक्का भएकी छु,’ उनले भनिन्, ‘अब राम्रो नतिजा निकाल्न तयारी गर्छु ।’ पेरिस ओलम्पिक २६ जुलाईदेखि ११ अगस्ट ११ सम्म हुँदै छ ।

सन्तोषीले सन् २०१९ मा नेपालमा भएको १३औँ सागमा १० हजार मिटरमा स्वर्ण पदक जितेकी थिइन् । सागमा एथलेटिक्सतर्फ स्वर्ण जित्ने उनी पहिलो महिला धाविका हुन् । गत वर्षको असोजमा चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा उनले प्रतिस्पर्धा गरेकी थिइन् । गत वर्ष नै बंगलादेशमा भएको दक्षिण एसियाली म्याराथनमा उनले स्वर्ण जितेकी थिइन् । 

पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहालले युनिभर्सियालिटी कोटामै स्थान पक्का गरेका थिए । टेबलटेनिसका स्याटु श्रेष्ठले छनोट चरण पार गर्दै स्थान सुरक्षित गरेका छन् । उनी छनोट चरण पार गरी ओलम्पिक खेल्ने नेपालका तेस्रो खेलाडी हुन् । उनीभन्दा अगाडि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरणबाट ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । 

सुझावित समाचार