कांग्रेस संसदीय दलको बैठक बस्दै

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दै छ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले  जानकारी दिए ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।  साथै, प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरूले वेल घेराउ र नाराबाजी गरिरहेका वेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठन नभएको भन्दै उसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले बिहीबार सहकारीको रकम अपचलन गरेकालाई कारबाही गर्न निष्पक्ष छानबिन हुनुपर्ने तथा संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले बैठक सञ्चालन हुन नदिने बताएका छन् ।  कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।

सुझावित समाचार