यातायात बन्दले सुनसान बन्यो ताप्लेजुङ पर्यटन महोत्सव

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण

ताप्लेजुङ जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूलाई  प्रचारप्रसार गरी विभिन्नखाले पर्यटक भित्र्याउने उद्देश्यले ताप्लेजुङमा जेठ ३ गते (आज)देखि जेठ ७ गतेसम्म ‘ताप्लेजुङ पर्यटन महोत्सव’ आयोजना गरिएको छ ।   

जिल्लावासीले स्वतस्फूर्त रूपमा बजार सजिसजाउसमेत गरेका छन् । तर, बजार भने सुनसान छ । पाथीभरा केबलकार निर्माणविरुद्ध संघर्ष गर्दै आएको समूहले आह्वान गरेको बन्दका कारण ताप्लेजुङको यातायात ठप्प भएको छ । संघर्षरत रहेको समूहले बुधबार र बिहीबार दुईदिने यातायात बन्दको आह्वान गरेपछि  बजार सुनसान बनेको हो । 

यातायात पूर्ण रूपमा बन्द भएका कारण कतैबाट मानिसहरूको आवतजावत छैन। मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङमा यातायात ठप्प भएकाले जिल्लाको विभिन्न गाउँहरूबाट आउने स्थानीयवासीहरू आउन सकेका छैनन् । महोत्वसमा आउन नाै स्थानीय तहका  ६१ वडाबाट आउने स्थानीय रोकिएका छन् । 

‘एक समूहले आह्वान गरेको दुईदिने बन्दका कारण बुधबार बिहानदेखि बेलुकासम्म नै यातायात सेवा ठप्प भयो । आज बिहीबार पनि बिहानैदेखि यातायात बन्द छ। महोत्वको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भनिए पनि उहाँ नआउने पक्का भएको छ, बन्दले गर्दा बर्बाद बनायो,’ महोत्सव मूल आयोजक समितिका सदस्यसचिव देवराज गुरुङले भने । 

महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले स्थानीय सर्वसाधारण स्वतस्फूर्त रूपले महोत्सवका विभिन्न कार्यक्रममा सक्रिय रूपले सहभागी बने पनि बन्दकर्ताले बन्द गरेपछि महोत्सव प्रभावित भएको बताए । पाँच दिनसम्म चल्ने महोत्सवमा दर्जनौँ कार्यक्रम तय भएका छन् । 

सुझावित समाचार