- तीनै तहको सरकारको लगानी हुने पहिलो आयोजना
- पहिलोपटक प्रसारणलाइन प्रभावितलाई सेयर
- निर्माणमा जान लागेको कर्णाली प्रदेशकै ठूलो आयोजना
१०६ मेगावाटको जगदुल्ला अर्ध जलाशय जलविद्युत् परियोजनामा नबिल बैंकको अगुवाइमा कुल १५ अर्ब ९० करोड ऋण लगानी हुने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रममा प्रवर्द्धक कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जय सापकोटा र नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नबिलले चार अर्ब ४० करोड, एचआइडिसिएलले चार अर्ब, कर्मचारी सञ्चय कोषले चार अर्ब, लक्ष्मी सन्राइज बैंकले दुई अर्ब र एभरेष्ट बैंकले एक अर्ब ५० करोड ऋण लगानी गर्नेछन् । आयोजनाको निर्माणको काम सुरु भएपछि प्रवाह हुने ऋणको ब्याजदर १० प्रतिशतभन्दा कम हुने प्रवर्द्धक कम्पनीका सिइओ सापकोटाले बताए । अब एक महिनाभित्र टेन्डर आह्वान हुने आयोजना निर्माण सुरु भएको पाँच वर्षमा तयार हुने उनको भनाइ छ । कार्यक्रममा नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाले परियोजना समयमै बन्नुपर्ने बताए ।
आयोजनामा कम्पनीले सात अर्ब १० करोड स्वपुँजीको रूपमा लगानी गर्नेछ । ५१ प्रतिशत संस्थापक सेयर हुने पुँजीमा संघीय सरकारको स्वामित्वका विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, एचआइडिसिएलको १० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत सेयर हिस्सा हुनेछ । यसैगरी, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र आयोजना बन्ने पालिका (जगदुल्ला गाउँपालिका र गृह मुड्केचुला)को १ प्रतिशत सेयर स्वामित्व हुनेछ । तीन तहका सरकारको लगानीमा बन्न लागेको यो पहिलो जलविद्युत् आयोजना हो ।
आयोजनामा सर्वसाधारणलाई ४९ प्रतिशत सेयर छुट्याइएको छ । त्यसमा सर्वसाधारण नागरिकलाई मात्रै ३३ प्रतिशत छुट्याइएको छ । आयोजना प्रभावित डोल्पा जिल्लाका बासिन्दालाई १० प्रतिशत र आयोजनाका कर्मचारीलाई ३ प्रतिशत छुट्याइएको छ । बाँकी ३ प्रतिशत भने प्रसारणलाइन प्रभावित जिल्लाका स्थानीय बासिन्दालाई दिइनेछ । कर्णालीमा १८ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । तर, अहिले कर्णालीमा कुल ८.५५ मेगावाट जडित क्षमताका आयोजना मात्रै सञ्चालनमा आएका छन् । योबाहेक १९०२ मेगावाटको मुगु कर्णाली, ४८० मेगावाटको फुकोट कर्णालीलगायतका थुप्रै आयोजना अध्ययन सम्पन्न भएर निर्माणको पूर्वतयारी र निर्माणको पर्खाइमा छन् ।