एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता सहयात्री दलहरूप्रति सशंकित बनेका छन् । उनले राजनीतिक परिस्थिति जुनसुकै वेला बदलिन सक्ने भन्दै परिस्थितिको विश्लेषण गरेर निर्णय गर्ने हिसाबले अघि बढ्नुपर्ने बताएका छन् ।
उनले सरकारबाट बाहिरिनसमेत तयार भएर बस्नुपर्ने बताए । मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठक उद्घाटन गर्दै नेपालले गम्भीर भएर सोच्ने वेला आएको बताए । उनले केन्द्रीय सदस्यहरूलाई प्रश्न गरे, ‘सत्ताको निम्ति मरिहत्ते गरेर बस्ने कि, स्वतन्त्र स्वाभिमानलाई ध्यान राखेर अगाडि बढ्ने हो ?’ सरकार र सत्ता समीकरण कहिले कता जान्छ भन्ने टुंगो नभएको उनले बताए ।
संघमा मात्रै नभएर सुदूरपश्चिम, मधेश र बागमती प्रदेश सरकारसमेत के हुन्छ भन्ने टुंगो नभएको दाबी गरे । उनले सत्ता समीकरणमा आफूहरूलाई बेवास्ता गरिएको गुनासोसमेत पोखे । ‘हाम्रो पार्टीलाई बेवास्ता गर्ने गरिएको छ । हामीले पत्रपत्रिकाबाट थाहा पाउनुपर्ने अवस्था छ, हामीलाई जानकारी पनि गराइँदैन । यस्तो अवस्थामा हामीले दिनदिनको परिस्थितिलाई ध्यानमा राखेर निर्णय गर्ने हिसाबले अघि बढ्नुपर्ने हुन्छ,’ उनले भने ।
नेपालले सरकारको नीति तथा कार्यक्रम निर्माणका सम्बन्धमा पनि आफूहरूलाई जानकारी नदिएको गुनासो गरे । उनले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित गराइएको दाबी पनि गरे ।