कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले दोलखाको वैतेश्वर गाउँपालिकाले किसान सहयोग कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको छ।
जिल्लाका अन्य स्थानीय तहहरूको तुलनामा खेतीयोग्य जमिन धेरै भएको मानिने वैतेश्वरले पछिल्लो समय कृषिमा आत्मनिर्भर बनाउन लागत साझेदारीमा किसान सहयोग कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको हो।
मौसमअनुसारको परम्परागत खेती प्रणालीदेखि नगदेबाली उत्पादनमा समेत गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। गाउँपालिकाले ८ वटै वडाका किसानहरूलाई समयअनुकूलका कृषिजन्य सामग्रीदेखि पर्याप्त उत्पादन हुने बिउ, मौरीपालन व्यवसाय तथा अन्य प्राविधिक सहयोग सहयोग प्रभावकारी ढंगले कार्यान्वयन हुने गरी प्रवाह गरिरहेको पालिका अध्यक्ष छवि लामाले जानकारी दिए।
वैतेश्वरले पछिल्लो समय किसानहरूको आकर्षण मौरीपालन व्यवसायतर्फ देखिएकाले वडा नम्बर १ देखि ७ सम्मका ७० जना किसानलाई ७० वटा मौरीसहितका घार र वडा नम्बर ८ का ४८ जना मौरीपालक किसानलाई मौरी नभएको सुधारिएको घार वितरण गरेको छ।
गाउँपालिकाको कृषि शाखाका अनुसार वडा नम्बर ८ का ४८ किसानलाई वडाकै स्वीकृत बजेटबाट र अन्य ७० जना किसानलाई भने गाउँपालिकाको बजेटबाट ७० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरिएको छ। पालिकाका कृषि प्राविधिक निरोज पाण्डेका अनुसार वडा नम्बर ८ मा वितरणको काम सम्पन्न भएको र अन्य वडामा भने चलिरहेको जानकारी दिए।
गाउँपालिकाको वडा नम्बर ८ मा भने लम्पी स्किनका कारण गोरु मरेका कारण चालू आर्थिक वर्ष मात्रै २० जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको वडाध्यक्ष शान्तबहादुर जिरेलले बताएका छन्।
४ सय ५० किसानलाई मकैको बिउ, ११३ लाई प्लास्टिक टनेल
गाउँपालिकाले चालू आर्थिक वर्ष ४ सय ५० जना किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बिउ वितरण गरेको छ। सबै वडाका इच्छुक कृषकहरूलाई माटो सुहाउँदो बिउ वितरण गरेको कृषि शाखाले जनाएको छ।
शाखाका अनुसार १ सय १३ जना किसानलाई नगदेबाली तथा तरकारी उत्पादनका लागि प्लास्टिक टनेलसमेत वितरण गरिएको प्राविधिक पाण्डे बताउँछन्। गाउँपालिका अध्यक्ष छवि लामाले संघीयताको मर्मअनुसार नै किसानका समस्यालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिँदै आएको जनाएका छन्।
अध्यक्ष लामाले पूर्वाधारका कामहरू नमुना ढंगले सम्पादन गरेको बताउँदै अब कृषि र पशु क्षेत्रमा आगामी वर्षका नीति कार्यक्रम र बजेट त्यसतर्फ प्राथमिकताका साथ केन्द्रित गरिने बताएका छन्। उनले सिंगो पालिकालाई कृषिमा आत्मनिर्भर बनाएर निर्याततर्फ लाग्ने गरी कार्यक्रमको तर्जुमा हुने जनाएका छन्।