चितवन जिल्लामा छरिएर रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरूलाई संगठित गर्दै आएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुग्ध सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम दिएको छ।
दुईदिने क्षमता अभिवृद्धि तालिममा चितवन जिल्लामा रहेका एक सय १४ वटा प्रारम्भिक दुग्ध सहकारी संस्थाका अध्यक्ष वा प्रतिनिधिको सहभागिता थियो। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन तालिम प्रभावकारी भएको बताए।
उनले नेपालभरि संघबाट भएको पहिलो र बृहत् कार्यक्रमका रूपमा यसलाई दाबी गरेका छन्। उनले संस्थाका व्यवस्थापकहरूका लागि पनि संघमार्फत छिट्टै तालिमको आयोजना गरिने बताए।
तालिममा प्रशिक्षक नव अधिकारीले सहकारी क्षेत्रको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक तथा अध्यक्षहरूको भूमिका, सहकारी ऐन, नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, विकास व्यवस्थापन प्रतिवेदन, विश्लेषण, बैठक सञ्चालन प्रक्रिया, नेतृत्वको भूमिकालगायतका विषयमा प्रशिक्षण गरिएको थियो।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सिना प्रमुख प्रमुख अतिथि रहेकाे कार्यक्रमलाई राष्ट्रिय सहकारी बैंक लिमिटेडले प्राविधिक सहयोग गरेको थियो।