केएमसी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौं सिनामंगलस्थित मेडिकल कलेज (केएमसी)ले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । अस्पतालका अनुसार जेठ अन्तिम सातासम्म मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी अघि बढाएको हो ।

सिनियर डाक्टर विजयमान सिंह र डा. सुरेश महर्जनको नेतृत्वमा अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको हो । अस्पतालका प्रबन्धक नाराणप्रसाद दाहालका अनुसार अन्य अस्पतालको तुलनामा यहाँ सस्तोमा सेवा प्रवाह गर्न लागिएको हो । ‘अन्य अस्पतालको तुलनामा सस्तोमा प्रत्यारोपण गर्दै छौँ,’ उनले भने, ‘अनुभवी र खारिएको चिकित्सकले भरपर्दो सेवा दिनुहुन्छ, बिरामीले सरकारी अस्पतालमा भन्दा पनि सस्तोमा सेवा पाउनुहुन्छ ।’ कुल ६ लाख ५५ हजारमा मिर्गाैला प्रत्यारोपण गर्ने योजना रहेको उनले बताए । 

अस्पतालले जेठको अन्तिम सातासम्म प्रत्यारोपणका लागि बिरामीलाई तयारी अवस्थामा राखेको छ । डा. विजयमान सिंहले पनि आफूहरूको नेतृत्वमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्न लागिएको जनाए । उनी सिनियर कन्सल्ट्यान्ट युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन पनि हुन् । अर्को डाक्टर सुरेश महर्जन सिनियर कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट फिजिसियन हुन् ।

डा. महर्जन त्रिवि शिक्षण अस्पतालबाट नेफ्रोलोजीमा डिएम गरी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काम गरेका अनुभवी चिकित्सक हुन् । डा. सिंहले पनि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लामो समय काम गरेका छन् । 

सुझावित समाचार