त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुईजना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ।
फ्लाई दुबईको एफजेड– ५७५ को उडानमार्फत गएराति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिए।
उनले भने, ‘गएराति फ्लाई दुबईबाट काठमाडौं आएका दुईजना भारतीयले आफूले लगाएको लुगामा सुनजस्तो देखिने पहेँलो रङको धातु लेपन–पेस्ट गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ।’
पक्राउ परेकामध्ये सुरेश कुमारको लुगासहितको उक्त सुनजस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो ६ सय ग्राम तथा मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको विमानस्थल सुरक्षा प्रमुख शर्माले जानकारी दिए। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।