सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा प्रारम्भिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १३ लाख ७९ हजार तीन सय ५० कित्ता आइपिओ जारी गर्न लागेको जनाएको छ । उक्त सम्झौतापत्रमा हाइड्रोका सञ्चालक समिति अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।
अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको हाइड्रोले नुवाकोट जिल्लाको घ्याङफेदीमा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।आयोजनाको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत सेयर लगानी रहेको बताइएको छ ।
त्यस्तै, आगामी १० महिनाभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति ३३ केभी डबल सर्किट ट्रान्समिसन लाइनमार्फत आठ किलोमिटर लामो समुद्रटार सबस्टेसनमा जडान गरिने कम्पनीले जनाएको छ ।