उसुको विश्वकप तयारी चीनमा

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय उसु खेलाडीले विश्वकपअघि चीनमा अभ्यास गर्ने भएका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै उसु महासंघले सान्सौ र थाउलोको विश्वकपअघि चीनमा अभ्यास गर्ने घोषणा गरेको हो।

सान्सौको विश्वकप अस्ट्रेलिया र थाउलोको विश्वकप जापानमा आगामी वर्ष आयोजना हुँदै छ। महासंघका अध्यक्ष वीरबहादुर तामाङले चाइना उसु एसोसियसनसँग करिब ३ महिने प्रशिक्षणका लागि प्रयास गरिरहेको बताए। ‘विश्वकपमा राम्रो नतिजा निकाल्न चीनमा अभ्यास गर्नेछौँ। त्यसको लागि छलफल भइरहेको छ,’ उनले भने।

यसैगरी, महासंघले वैशाखको दोस्रो साता चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल ६ खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ। अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा चीनको जियाङ्सु प्रान्तको जियानझिङमा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको थियो।

महासंघले रजत विजेता खेलाडीलाई १० हजार र कास्य पदक विजेता खेलाडीलाई ७ हजार नगदसहित सम्मान गर्ने बताएको छ। नेपालले सान्सौ विधातर्फ एकलमा २ रजत र २ कास्य पदक जितेको थियो। यस्तै, थाउलो विधाको एकल र टिम इभेन्टमा पनि समान १ कास्य पदक जितेको हो।

सान्सौ विधाको पुरुष ८० केजी तौल समूहमा संजीव महर्जन र सोही विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुङले रजत पदक जितेका थिए। संजीव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग फाइनलमा पराजित भएका हुन्। स्वर्ण पदक ल्याउन नसके पनि संजीव र विद्या दुवै आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौ विश्वकपमा छनोट हुन सफल भएका छन्।

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालका तर्फबाट सर्वाधिक ९.६६३ स्कोर प्राप्त गरी दीपक हमालले कास्य पदक जितेका थिए। उनी आगामी अक्टोबरमा जापानमा हुने थाउलोको विश्वकपका लागि पनि छनोट भएका छन्। प्रतियोगितामा राम्रो प्रर्दशन गरेका विजय सिंजालीले अझै राम्रो स्थानमा प्रशिक्षण गर्न सके एसियाली खेलकुदमै स्वर्ण जित्न सकिने विश्वास दिलाए। अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिताको थाउलोको छान्छवान इभेन्टमा सहभागी २९ वटा देशको भिडन्तमा विजय छैटौँ स्थानमा आएका थिए।

महिलाको नान्छवान इभेन्टमा निमा घर्तीमगर ९.४७६ स्कोर गर्दै चौथो भएकी थिइन्। प्रतियोगितामा सान्सौतर्फ लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरणसिंह साउदले ९० केजी तौल समूहमा कास्य पदक जितेका थिए।

थाउलोतर्फकै तुइलिन विधाको टिम इभेन्टमा नेपालका पुरुष खेलाडीहरू विजय सिन्जाली, दीपक हमाल र राजीव गुरुङले कास्य पदक जितेका थिए।

सुझावित समाचार