सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष ०८०/८१ को तेस्रो त्रैमासमा गत आवको तुलनामा ९२.९४ प्रतिशतले नाफा बढाएको छ । चालू आवको नौ महिनामा कम्पनीले ३० करोड ४८ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड ७९ लाख नाफा गरेको थियो । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको सेयर पुँजी चार अर्ब १८ करोड रहेको छ ।
कम्पनीको महाविपत्ति कोषमा १२ करोड ६९ लाख छ भने रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रहेको छ । ०७९/८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बिमा कोषमा १० अर्ब ९१ करोड थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चैत मसान्तसम्ममा कम्पनीको जीवन बिमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको छ ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले चार अर्ब २७ करोड कुल बिमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब ९५ करोड कुल बिमा शुल्क आर्जन गरेको थियो ।
चार अर्ब एक करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब ८४ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बिमा शुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि भएको पाइन्छ । समीक्षा अवधिमा कम्पनीले पुनर्बिमामार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बिमामार्फत खर्चिएको थियो । प्रतिसेयर आम्दानी ९.७१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ ।