बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ।
भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमानाका शुक्रबार राति १० बजेदेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको हो। नाका बन्द रहेका वेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने उनले बताए।
निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ। लोकसभा निर्वाचनलाई दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दै आएका छन्।