नेपाल दूरसञ्चार प्राधिकरणले सरकार स्वामित्वको नेपाल टेलिकमलाई पाँच वर्षका लागि नयाँ लाइसेन्स (इजाजत) दिएको छ । टेलिकमको लाइसेन्स अवधि शुक्रबारबाट सकिनै लाग्दा २१ करोड रुपैयाँ दस्तुर लिएर पाँच वर्षलाई लाइसेन्स दिएको प्राधिकरणले जनाएको हो ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले प्राधिकरणले पाँच वर्षका लागि लाइसेन्स दिएको पत्र पठाएको जानकारी दिइन् । ‘अहिलेका लागि लाइसेन्स पाउनु नै ठूलो कुरा भयो, पाँच वर्षपछि अहिलेकै कानुनबमोजिम लाइसेन्स पाउँछौँ वा नयाँ कानुन बन्छ । त्यो सरकारको कुरा भयो,’ उनले भनिन् । प्राधिकरणले पठाएको पत्रमा अहिलेलाई अवधि सकिएको हुँदा पाँचवर्षे लाइसेन्स दिएको र आवश्यक सर्त तोकिने उल्लेख छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी अनुमतिपत्र जारी गर्न निर्देशन दिएको थियो । नीतिगत कानुन र दस्तुरको विषयमा अन्योल रहेको अवस्थामा हाललाई २१ करोड रुपैयाँ लिएर पाँच वर्षलाई लाइसेन्स दिएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर तत्काललाई लाइसेन्स दिएका छौँ । आउँदा दिनमा आवश्यक कानुन बनाएर अहिलेको अन्योलतालाई हटाउँछौँ ।’