बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारबाट तीन दिने युवा सम्मेलन सुरु भएको छ । ३० बैशाखसम्म चल्ने सम्मेलनको प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले आयोजना गरेको हो । सम्मेलनमा सहभागी युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलतामा समेट्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकको दाबी छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अब देशको नेतृत्व युवाले लिएको हेर्न चाहेको बताए । युवामा रहेको ज्ञान, सिप र उर्जाको प्रयोगबाट मात्रै देशको सम्मृद्धि सम्भव भएकोले युवाले नेतृत्वको लागी दाबी गर्नुपर्ने उनको भनाइ थियो ।
‘युवाहरुको सोचाई कस्तो हुने?, विगतलाई कसरी सोच्ने ? वर्तमान कसरी विश्लेषण गर्ने र भविष्यलाई कस्तो बनाउने ? अब युवाको सोचमा परिवर्तन आउन आवश्यक छ । हामी युवाहरु परिवर्तनका संवाहक भएको हेर्न चाहान्छौं, देशमा विकास चाहान्छाैँ, सम्मृद्धि चाहान्छौं, रोजगारी चाहान्छौं, हामी समाजमा देखिएका सम्पूर्ण विकृती र विसंगतीहरुको अन्त्य चाहान्छौं, सम्मुन्नत नेपाल चाहान्छौं, स्वच्छ र सुन्दर समाज चाहान्छौं, युवाहरुले नेतृत्व गरेको देश हेर्न चाहान्छौं,’ उनले भने ।
मुख्यमन्त्री जम्कट्टेलले युवाहरुलाई सम्मेलनमा देशको शिक्षा, स्वास्थ्य, कृषि, विकासको मोडल, व्यापारमा देखिएको समस्या जस्ता विषयहरुमा छलफल गर्न आग्रह गरे । देशमा प्रयोग भइरहेको शिक्षा, स्वास्थ्य र विकासको मोडेल उयुक्ता छ कि छैनन भन्ने विषयमा मिहिन ढंगबाट छलफल गर्न पनि आग्रह गरे । उनले युवा सम्मेलनबाट तीनै तहका सरकारलाई आवस्यक सुझाव र सल्लाह प्राप्त हुने विश्वास व्यक्त गरे ।
बागमती, प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सम्मेलनबाट युवाहरुमा सकरात्मक सोचको विकास हुने बताइन् । उनले पछिल्लो समय युवाहरुमा निराशा बढी देखिएको दाबी गर्दै सम्मेलनले त्यसलाई चिर्न सफल हुने विश्वास व्यक्त गरिन् ।
सम्मेलनमा बागमती प्रदेशका एक सय १९ मध्ये ९१ पलिकाका २०० बढी युवाहरु छनोट भएको कार्यकारी उपाध्यक्ष चौलागाईंले जानकारी दिए । सम्मेलनमा १६ देखि ३० वर्ष उमेर समूहका विभिन्न क्षेत्रका युवाहरुको सहभागीता रहेको छ । सम्मेलनमा शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका ५ वटा फरक–फरक विषयहरू समेटेर विभिन्न चरणमा छलफल भइरहेको पनि उपाध्यक्ष चौलागाईँले बताए ।
सम्मेलनको अन्तिम दिन आइतबार युवासँग मुख्यमन्त्री कार्यक्रम आयोजना गरी सम्मेलनका क्रममा उठेका विषयसहित राज्यले गरिरहेका पहल र कमजोरीका बिषयमा मुख्यमन्त्रीसँग छलफल गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको पहिलो दिन शुक्रबार युवाहरुको टोलीले विभिन्न झाँकिसहित हेटौँडाको बुद्धचोकबाट सुरु भएको र्यालीले बाजारको परिक्रमा गरेको थियो ।