पाल्पाको रिब्दिकोटमा पहाडी क्षेत्रमै पहिलो कपडा बैंक शुभारम्भ

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

पाल्पाको रिब्दिकोटमा पहाडी क्षेत्रमै पहिलो क्लोथ बैंक अर्थात् कपडा बैंकको शुभारम्भ गरिएको छ । क्लोथ एन्ड फुड बैंक नेपालसँगको सहकार्यमा गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी कपडा बैंकको सुरुवात गरेको हो । प्रयोगमा नआउने कपडाहरूलाई संकलन गर्ने र त्यसको पुन: प्रयोगबाट विशेष गरी कपडाविहीनलाई निःशुल्क वितरण गर्ने उद्देश्यले कपडा बैंक सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।

उनले भने, ‘समाजमा धेरै कुराको गरिबी छ, त्यसमा पनि खान र लाउन पाउनु मानिसको पहिलो सर्त हुन्छ यसअन्तर्गत निःशुल्क रूपमा कपडा वितरण गर्न सकिने यो तरिका वास्तवमै उपयुक्त छ। त्यसैले हामीले सुरु गरेका छौँ,’ गाउँपालिका अध्यक्ष कार्कीले यसको प्रारम्भ गर्न ढिलो भएको बताउँदै पुण्यको कामको सुरुवात गर्न पाएकोमा खुसी व्यक्त गरे।

पालिकाकामा संकलित प्रयोगमा नआएका पुराना लत्ताकपडालाई पुनः प्रशोधन अर्थात् रि–साइकल गरी आवश्यकताका आधारमा मौसमअनुसार कपडा निःशुल्क वितरण गरिने अध्यक्ष कार्कीको भनाइ छ। संकलित कपडा र अन्य वस्तुलाई ‘क्लोथ एन्ड फुड’ बैंकले ‘रिसाइकल’ गर्नेछ। रिसाइकल गरिएका कपडाहरूलाई माग तथा स्थानीय तहको सिफारिसका आधारमा निःशुल्क वितरण गरिनेछ। विपन्न तथा गरिब वर्गलाई उनीहरूको घरघरमै कपडा वितरण गर्ने अभियानमा सहभागी हुन बैंकका अध्यक्ष कमल जिसीले अनुरोध गरेका छन्। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले दान गर्नका लागि कुनै अवसर र नगद नचाहिने भन्दै आफनो घर छिमेकमा रहेका कपडाहरू संकलन गरी गाउँपालिका कार्यालयपरिसरमा रहेको बैंकमा जम्मा गरिदिन आग्रह गरे। एक सय ८७ स्थानीय तहमा कपडा बैंक सञ्चालन हुने क्रममा छ। यही साता नै बैंकले पाल्पाका विभिन्न स्थानीय तहका कपडाविहीनलाई कपडा वितरण गरेको छ।
 

सुझावित समाचार