सजावटका लागि राखिएका झिलिमिली बत्तीको प्रभावबारे अध्ययन गरिने

बिहिबार, २७ बैशाख, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाभित्र रातको समयमा सजावटका लागि राखिएका बत्ती (झिलिमिली)को वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ । उपमेयर सुनिता डंगोलको अध्यक्षतामा मंगलबार बसेको अनुगमन समितिले ती बत्तीले पारेको असरबारे अध्ययन गर्ने निर्णय गरेको हो ।

ती बत्तीले पैदल वा सवारी यात्राका क्रममा पार्ने प्रभाव, रातको समयमा वास बस्ने तथा उड्ने चराचुरुंगी र अन्य जीवजन्तुलाई पार्ने असर, रूख वा बिजुलीका पोल र बत्तीका तारले पार्ने असरलगायत विषयमा अध्ययन गर्ने निर्णय भएको हो । सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजताजस्ता पक्षबाट अध्ययन गर्ने बैठकले निर्णय गरेको छ ।

‘एउटा अभ्यास पछ्याउँदै सहरका विभिन्न ठाउँमा झिलिमिली बत्ती राखिएका छन् । सडक किनारामा, सम्पदा क्षेत्रमा, पार्कमा, सार्वजनिकस्थलमा धेरैतिर यस्ता बत्ती छन् । यसरी राखिएका बत्ती बारे मिश्रित बुझाइ छ । यस्ता बत्ती कहाँ राख्नुपर्ने हो, कति समयका लागि बाल्नुपर्ने हो, बत्ती राख्दा सकारात्मक र नकारात्मक प्रभाव के हुन्छ ? थाहा पाउन आवश्यक छ । यसका लागि छिट्टै प्रतिवेदन आउने गरी अध्ययन गराउनुपर्छ,’ उपमेयर डंगोलले भनिन् । 

सडक किनारामा राखिएका यस्ता बत्तीको उज्यालोले गाडी चलाउन कठिन भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले कुन ठाउँमा कस्तो खालको बत्ती आवश्यक पर्ने हो, यसको मापदण्ड आवश्यक भएको बताए । ‘वातावरण र इलेक्ट्रिक इन्जिनियरसहितको टोलीले यसको अध्ययन गर्ने र अध्ययनको सिफारिसका आधारमा बत्ती व्यवस्थापनको निर्णय लिइनेछ,’ उनले भने । बैठकमा कानुन तथा मानव अधिकार विभाग, राजस्व विभाग, वातावरण व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, योजना अनुगमन तथा मूल्यांकन एकाइका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।

सुझावित समाचार