अग्निपीडितको घरदैलोमा रोटरी : साढे पाँच लाखबराबरको आर्थिक तथा राहत सहयोग

मंगलबार, २५ बैशाख, २०८१
डिजिटल संस्करण

रोटरी क्लब अफ रेसुंगाले जिल्लाका अग्निपीडितहरूको घरदैलोमै राहत पुर्‍याएको छ । विभिन्न समयमा जंगलको आगो बस्ती पसेपछि घरगोठसहितको सम्पत्ति गुमाएका परिवारको पीडामा रोटरीले मल्हम लगाएको हो । 

डेढ सय घरगोठसँगै करिब दुई हजार पाँच सय हेक्टर वन क्षेत्र आगोले नष्ट
जिल्लामा डेढ सय घरगोठसंँगै करिब दुई हजार पाँच सय हेक्टर वन क्षेत्र आगोले नष्ट गरेको छ । आगलागीपछि अस्थायी आवास र छिमेकीकाे आश्रयमा बसेका परिवारलाई रोटरीले दैनिक उपभोग्य सामग्रीसहित कीटबक्स प्रदान गरेको रोटरी क्लब अफ रेसुंगाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । 

चार लाखबराबरको आर्थिक तथा राहत सहयोग
श्रेष्ठका अनुसार रोटरीमा आबद्ध व्यक्तिहरूको आर्थिक सहयोगमा अग्निपीडितलाई राहत प्रदान गरिएको हो । क्लबले आगलागीपीडित इस्मा गाउँपालिका– २, ४ र ६ का सिदुङ्खा, कोटकटेरी र बुल्ममा चार लाखबराबरको आर्थिक तथा राहत सहयोग गरेको श्रेष्ठले बताए । 

क्लबले अग्निपीडितहरूका लागि राहत संकलन अभियानसमेत आयोजना गरेको थियो । अभियानमा संकलन भएको नगद इस्माको राहत कोष र सामग्री पीडितलाई क्लब आफैँले वितरण गरेको थियो । 

गुल्मीदरबार गाउँपालिका– ७ का अग्निपीडितलाई डेढ लाखभन्दा बढीको राहत 
राहत वितरणकै क्रममा शनिबार गुल्मीदरबार गाउँपालिका– ७ का अग्निपीडितहरूलाई रोटरी क्लब अफ रेसुंगाले डेढ लाखभन्दा बढीको राहत सामग्री प्रदान गरेको छ ।

क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठसहितको टोलीले गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापामार्फत अग्निपीडित ६ घरपरिवारलाई ३१ प्रकारका आपतकालीन समयमा आवश्यक पर्ने कीटबक्स, चामल, नुनतेललगायतका खाद्य सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ । कीटबक्सभित्र पानी छान्ने फिल्टरदेखि त्रिपाल, लत्ताकपडा, बालबालिकाहरूका लागि पेन्सिलसम्मका सामग्री छन् ।

‘रोटरीमा आबद्धहरूले सामाजिक भावाना जगाएका छौँ । सबैले विपतमा दु:खको सहजीकरण गर्न आवश्यक छ,’ श्रेष्ठले भने, ‘आफैँले सहयोग रकम उठाएर सामग्री किनेर वितरण गर्‍याैँ ।’ विपतमा रोटरीले देखाएको सदासयता उदाहरणीय रहेको गुल्मीदरबार गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले प्रतिक्रिया दिइन् ।

सुझावित समाचार