नेपालगन्ज आइसिपी सञ्चालनमा

मंगलबार, २५ बैशाख, २०८१
डिजिटल संस्करण

नेपालगन्जस्थित एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आइसिपीको सोमबार उद्घाटन गरेलगत्तै नेपालबाट दुई ट्रक प्लाइउड भारत पठाइएको छ । भारत पठाइएको गाडीलाई भारतीय अधिकारीले फूलमालाले स्वागत गरे । त्यसैगरी, सोमबार नै भारतबाट एक ट्रक क्लिङ्कर आइसिपी हुँदै नेपाल भित्रिएको छ । भारतबाट क्लिङ्कर बोकेको ट्रकलाई नेपाली अधिकारीले फूलमालाले स्वागत गरी बिदाइ गरे । 

उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री भण्डारीले आइसिपी सञ्चालनमा आएसँगै दुई देशको व्यापारमा सहजीकरण हुने तथा खुला सीमानाकाका कारण हुने अवैध चोरी–तस्करी नियन्त्रणमा सहयोग मिल्ने बताए ।  नेपालगन्जको मुख्य नाका जमुनाहबाट आइरहेका मालवाहक साधन अब आइसिपी भएर आउनेछन् । भन्सार, पशु र प्लान्ट क्वारेन्टिन, सशस्त्र प्रहरी, नापतौललगायतका कार्यालय आइसिपीमा व्यवस्थापन भइसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए । ‘अब सबै मालवाहक साधनलाई आइसिपी भएर मात्र आउजाउ गर्न दिइनेछ,’ उनले भने । 

मालवाहक साधन आउँदा दुवै देशका अधिकारीले चेकजाँच गरेर मात्र प्रवेश गर्न दिइने व्यवस्था मिलाइएको छ । करिब दुई अर्ब ७५ करोडमा निर्माण भएको आइसिपी बनाउन आठ वर्षअघि नेपाल–भारतबीच सम्झौता भएको थियो । १८ जेठ ०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले एकसाथ उद्घाटन गरेका थिए । १ माघ ०७५ मा भारतका तत्कालीन गृहमन्त्री राजनाथ सिंहले आइसिपीको शिलान्यास गरेका थिए । भारततर्फ आइसिपीको शिल्यान्यास भएको दुई वर्षपछि नेपालतर्फ भूमि पुजन गरी ६ असोज ०७७ देखि निर्माण सुरु भएको थियो । एकीकृत भन्सार जाँचचौकी (आइसिपी)को निर्माण ०७७ साल असोज ६ गतेबाट सुरु भएको थियो ।

आइसिपीको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिले ११ असार, ०८० मा बोलपत्र आह्वान गरेको थियो । त्यसपछि टिआरएस एट्लस लोजीपार्क प्रालिलाई आइसिपी सञ्चालनका लागि पूर्वाधार हस्तान्तरण गरिएको थियो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर जीवन ढकालका अनुसार आइसिपीका पूर्वाधारको काम सकेर सञ्चालनका लागि टिआरएसलाई जिम्मा दिइएको छ ।

यसअघि नेपालगन्ज–जमुनाह सडक खण्डमा हुने ट्राफिक जाम र अवैध चोरी–निकासीमा कमी आउने आशा गरिएको भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले बताए । उनले आइसिपीले दुई देशको व्यापारलाई व्यवस्थित बनाउने जिकिर गरे । ‘दुई देशको व्यापार सहज हुने नै छ अवैध चोरी–निकासी नियन्त्रण भई राजस्वमा पनि वृद्धि हुनेछ,’ उनले भने । आइसिपीमा भन्सार कार्यालय, पशु तथा प्लान्ट क्वारिन्टिन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुरक्षाकर्मी, बैंक काउन्टरलगायत कार्यालयका लागि संरचना निर्माण भएको छ ।

सुझावित समाचार