सभामुख देवराज घिमिरेले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवस २०८१ को अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रेस स्वतन्त्रता दिवसले संवैधानिक हक, अधिकारको संरक्षण गर्दै व्यावहारिक चुनौती सामना गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका हुन्।
‘राजनीतिक आन्दोलन सकिएसँगै नेपाली प्रेसले सुशासन, विकास र समृद्धितर्फका गतिविधिलाई प्रोत्साहित र प्रवर्द्धन गर्नेतर्फ लाग्नुपर्दछ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘प्रेसलाई बलियो बनाउने, सबल र सक्षम बनाउने दायित्वबाट सरकारसमेत पछि हट्नुहुँदैन।’
नेपालको संविधानले व्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस तथा प्रकाशनको हक प्रत्याभूत गरेको उनको भनाइ छ। लोकतन्त्रमा प्रेसको भूमिका सूचना सम्प्रेषणमा मात्रै सीमित नभई लोकतन्त्रको प्रवर्द्धन र सुशासन प्रत्याभूतिका लागि अपेक्षित रहने उल्लेख गर्दै लोकतन्त्रको स्वास्थ्यका लागि पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच आवश्यक भएको उनले बताए।
‘नागरिकलाई अज्ञानता र गलत सूचनाबाट रोक्ने, सुसूचित गर्ने र तथ्यपरक सूचना प्रवाह गर्ने दायित्व सञ्चारजगतको नै हो,’ सन्देशमा भनिएको छ, ‘सरकार तथा जनप्रतिनिधिलाई समेत खबरदारी गर्दै जनसरोकारका मुद्दामा उत्तरदायित्वप्रति सचेत गराउने काम पनि सञ्चार क्षेत्रको प्रमुख रहन्छ, सरकार र नागरिक समाजका सबै पक्षबीच मध्यस्तथता गर्ने माध्यमको रूपमा प्रेसको भूमिका रहन्छ।’
नेपाली प्रेस लोकतन्त्र प्राप्ति र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण सहयात्री भएको र लोकतन्त्र र सञ्चार जगत् एक–अर्काका पूरक र सहयोगी रहेको सन्देशमा भनिएको छ। लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव भएको बताए।