हराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाइयाे

अमेरिकाको नेपाली राजदूतावासले पुरातात्त्विक महत्त्व का २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन ब्राडफोर्डले संकलन गरेका ती सामग्री हालै हवाई टापुमा हस्तान्तरण गरिएको थियो ।

दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्त्व विभागसँगको समन्वयमा बिहीबार हवाईबाट नेपाल पठाइएको हो । तेह्रौँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुंगा र हड्डीबाट बनेका हुन् ।

‘हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्त्वका वस्तुहरूलाई खोजीनिती गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीहरूलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ,’ दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले भने ।

नेपाल–अमेरिका समन्वयमा हवाईबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरूपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको बिघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् ।

यसैगरी अरू मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन् । दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ ।     
  
 

See More On

सुझावित समाचार