नक्कली लाइसेन्स लिने पनि पक्राउ

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली सवारी लाइसेन्स प्रकरणमा संलग्नलाई धमाधम पक्राउ थालेको छ । यस प्रकरणमा सिआइबीले हालसम्म सातजनालाई पक्राउ गरिसकेको छ । अनुसन्धानका क्रममा सिआइबीले लाइसेन्स जारी गर्ने मात्र होइन, लाइसेन्स लिनेलाई पनि नियन्त्रणमा लिएको छ । 

सिआइबीबाट प्राप्त जानकारीअनुसार हालसम्म हरिश भट्ट, सुरजप्रकाश अर्याल, नारायणप्रसाद पाण्डे, लजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र र मिलन बास्तोलालाई पक्राउ परिसकेका छन् । सिआइबीले १५ वैशाखमा भट्ट र अर्याललाई नियन्त्रणमा लिएको थियो । नक्कली लाइसेन्स प्रकरणमा अर्यालले नक्कली ‘युजर’ सिर्जना गरेर विवरण फेर्ने र भट्टको भूमिका प्रिन्ट गर्नेमा देखिएको स्रोतको दाबी छ । 

त्यस्तै, सिआइबीले १६ वैशाखमा यातायात व्यवस्था कार्यालय लुम्बिनीका करारका कम्प्युटर अप्रेटर पाण्डेलाई पक्राउ गरेको थियो । उनीहरू सबै अहिले सिआइबीको हिरासतमा छन् । यसबीचमा सिआइबीले नक्कली लाइसेन्स लिएको देखिएकामा दनुवार, सुनार, मिश्र र बास्तोलालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको छ । दनुवारलाई १७ वैशाख, सुनारलाई १८ वैशाख, मिश्रलाई १९ वैशाख र बास्तोलालाई २० वैशाखमा पक्राउ गरेको हो ।

नक्कली लाइसेन्स जारी प्रकरणमा अनुसन्धान जारी रहेको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । यातायात व्यवस्था विभागले गठन गरेको समितिले गत पुसमा बुझाएको छानबिन प्रतिवेदनले लामो समयदेखि नक्कली सवारी लाइसेन्स जारी हुने गरेको तथ्य सार्वजनिक गरेको थियो । सर्वसाधारणको डाटा तोडमोड गरेर लिखित परीक्षा र ट्रायलविनै एक लाख दुई हजार सात सय ११ फर्जी लाइसेन्स जारी गरिएको निष्कर्षसहितको विवरण छानबिन समितिले बुझाएको थियो । छानबिनबाट ठूलो संख्यामा फर्जी लाइसेन्स जारी भएको भेटिएपछि विभागले यस विषयमा थप छानबिन गरी संलग्नमाथि कारबाहीका लागि अख्तियार र सिआइबीलाई पत्राचार गरेको थियो । 

विभागले पत्राचार गरेको करिब तीन महिनापछि सिआइबीले यस सम्बन्धमा छानबिनलाई तीव्रता दिएर आरोपित संलग्नलाई पक्राउ थालेको हो । अहिले सिआइबीले नक्कली लाइसेन्स जारी गर्ने कर्मचारीको पहिचान गरिरहेको छ । यसमा ठूलो संख्यामा कर्मचारी र बिचौलिया पक्राउ पर्ने सम्भावना देखिन्छ । फक्राउ परेकाको बयानका आधारमा अन्य व्यक्ति पनि पक्राउ गर्ने क्रम सिआइबीले जारी राखेको छ । 

सुझावित समाचार